काठमाडौं। नेपाल दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादन याक चिजले जैविक प्रमाणपत्र प्राप्त गरेको छ । संस्थानले एक कार्यक्रम गरी आफ्नो उत्पादन याक चिजले पाएको जैविक प्रमाणपत्र सार्वजनिक गरेको छ ।
संस्थानले २००९ सालमा लाङ्टाङको क्याञ्जिङ गुम्बामा कारखाना स्थापना गरी याकको चिज उत्पादन शुरू गरेको जानकारी दियो।
संस्थानले याक चिज उत्पादन गरेको करीब ६५ वर्षपछि मात्रै जैविक प्रमाणपत्र प्राप्त गरेको संस्थानका उपमहानिर्देशक ईश्वरीप्रसाद अधिकारीले बताए । लामो समय देखि उत्पादन भए पनि हाल मात्र जैविक प्रमाणपत्र लिन सकिएको उपमहानिर्देशक अधिकारीले जानकारी दिए ।
सो प्रमाणपत्र हाल स्वदेशका लागि मात्र मान्य हुने र विदेशी बजारका लागि छुट्टै प्रमाणपत्र लिनुपर्ने कार्यक्रममा जानकारी दिर्इयो ।
याक चिज नेपालको चिनारी बोकेको ऐतिहासिक दुग्ध पदार्थ भएकाले यसको उत्पादनलाई प्रवद्र्धन गर्नु आवश्यक रहेको पशु विकास मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले बताए । उनले यसको उत्पादन बढाउन सके विश्व बजारमा सहजरुपमा बेच्न सकिने बताए।
जैविक प्रमाणपत्र पाएको याक चिजलाई उच्च मूल्यमा विक्री गर्न सकिए त्यसबाट प्राप्त हुने सम्पूर्ण रकम कृषकलाई नै उपलब्ध गराउने संस्थानको योजना छ ।
याक चिज उच्च हिमाली भेगको खर्कमा पाइने विभिन्न प्रकारका जडीबुटी मिश्रित विषादी र रासायनिक मलरहित स्वच्छ वातावरणमा उम्रिएको घाँस खाएर बाँच्ने चौरीको दूधबाट बन्ने गरेको छ ।
SHARE YOUR THOUGHTS