२८ मंसिर २०८२, शनिबार

स्थानीय तहमा बैंक नहुँदा काममा बाधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पाल्पा । जिल्लाका ग्रामीण भेगका स्थानीय तहमा बैंकको सुविधा नहुँदा सर्वसाधारण सरकारमुकाम धाउन बाध्य छन् ।

कर्मचारी तथा पदाधिकारीलार्ई तलब भत्तादेखि, दैनिक कार्यालय सञ्चालन खर्च, सामाजिक सुरक्षा भत्ता, अन्य आर्थिक कारोबार गर्न चेक बोकेर सदरमुकाम तानसेन धाउनु परिरहेको छ ।

ग्रामीण भेगमा निजी तथा सरकारी बैंक स्थापना हुन नसक्दा स्थानीय तहका दैनिक कामकाज गर्न समस्या आएको छ । पूर्वखोला गाउँपालिकाभित्र सरकारी तथा निजी बैंक सञ्चालनमा आउन नसकेपछि चेक साट्नका लागि एक दिन पैदल हिँडेर तानसेन पुग्नुपरेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।

जिल्लाको निस्दी, पूर्वखोला, रम्भा, माथागढी र रैनादेवी छहरा स्थानीय तहमा सरकारी बैंक नहुँदा विकासका कामदेखि स्थानीय तहका कर्मचारीलाई तलबका लागि सदरमुकाम तानसेन धाउनु परेको छ । सामाजिक सुरक्षा भत्ताको लाखौँ पैसा बोकेर गाउँ जानुपर्ने बाध्यता अझै हटेको छैन ।

स्थानीय बासिन्दाले आर्थिक कारोबार सहकारी तथा निजी बैंकबाट गर्दै आएपछि स्थानीय तहमा सरकारी स्वामित्वका बैंक नभएपछि गाउँपालिकाको आर्थिक कारोबार गर्न सदरमुकाम तानसेन नै आउनुपर्ने बाध्यता रहेको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

तानसेन, रामपुर नगरपालिका र बेगनासकाली, रिब्दीकोट गाउँपालिकामा वाणिज्य बैंक सञ्चालनमा रहेकाले स्थानीय तहका आर्थिक कारोबार गर्न सहज हुँदै आएको छ । रासस