एमाले अध्यक्ष ओलीले लाङटाङ पुगेर भने- रसुवागढी भएर रेलमार्ग सञ्चालनमा ल्याइने « Eglish Khabarhub

एमाले अध्यक्ष ओलीले लाङटाङ पुगेर भने- रसुवागढी भएर रेलमार्ग सञ्चालनमा ल्याइने



रसुवा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज रसुवाको लाङटाङ र रसुवागढीको अवलोकन भ्रमण गरेका छन् ।

अध्यक्ष ओलीले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको अवलोकनपछि  गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे गाउँ कमिटीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ सरकार चाँडै गठन हुने बताए ।

अध्यक्ष ओलीले रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय मार्गलाई व्यवस्थित गरिनुका साथै आउँदो चैत–वैशाखसम्ममा बेत्रावती–स्याँफ्रुवेंसी मार्ग सञ्चालनमा ल्याइने बताए । हाल त्यहाँ नेपाली सेनाले काम गरिरहेको छ ।

गल्छी–रसुवागढी राजमार्गलाई दुई लेनको बनाइने अध्यक्ष ओलीको भनाइ थियो ।

‘अर्को मार्ग पनि चाँडै निर्माण गरिनेछ,’ उनले भने ।

रसुवा भन्सार कार्यालयको व्यवस्थापन छिट्टै गरिने तथा रसुवागढी अन्तर्राष्ट्रिय नाका व्यवस्थित गरिने अध्यक्ष ओलीले बताए । गोसाइँकुण्ड तीर्थस्थल, लाङटाङ पर्यटकीय क्षेत्रको संरक्षण गरिने उनको भनाइ थियो । उनले रसुवागढी भएर रेलमार्ग सञ्चालनमा ल्याइने बताए।

‍सो अवसरमा टिमुरे गाउँ कमिटीका अध्यक्ष कामी नोर्वु तामाङले अध्यक्ष ओलीलाई मागपत्र पेश गरेका थिए।

अध्यक्ष ओलीका साथमा एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी स्थायी समिति सदस्य सुवास नेम्बाङ, शंकर पोखरेल, जनार्दन ढकाललगायत नेता रहेका थिए ।

Publish on: