कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादन घट्यो, अन्य जलविद्युत् केन्द्रमा पनि उत्पादन कम « Eglish Khabarhub

कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादन घट्यो, अन्य जलविद्युत् केन्द्रमा पनि उत्पादन कम



पर्वत । मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ ।

चिसो मौसमसँगै नदीको वहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको छ ।

पानीको वहाव घटेपछि उत्पादन पनि कम हुँदै गएको आयोजना प्रमुख राजेश पाण्डेले जानकारी दिए।

‘हिउँदमा प्रायःगरी उत्पादन घट्ने भए पनि यस पटक ५५ प्रतिशतभन्दा पनि बढी घटेको छ, वर्षायाम जस्तो फुल फेजको प्रोडक्सन भएको छैन,’ उनले भने ।

पाण्डेले कालीगण्डकी मात्र नभई अन्य सहायक नदी र  मूल सबैमा पानी घटेकाले असर परेको बताए।

सो आयोजनामा वर्षायाममा तीन वटै टर्बाइनबाट विद्युत् उत्पादन हुने र तर अहिले एउटा मात्र टर्बाइनबाट विद्युत् उत्पादन हुने गरेको छ । पानीको सतह कम हुँदा हिउँदमा दुई टवाईन बन्द हुने गरेका छन् ।

‘नदीमा पानीको स्तर दिनदिनै घटेको छ, गएका वर्षभन्दा योपल्ट नदीको वहाव अझै बढी मात्रामा घटेको हो,’ उनले भने ।

बिहान–बेलुकी पानी सञ्चित गरी पूर्णस्तरमा नै विद्युत् उत्पादनको प्रयास भए पनि दिउँसोको उत्पादन ८० मेगावाटमा झरेको छ ।  यस पटक गत असोज अन्तिमदेखि नै कालीगण्डकी नदीको वहाव क्रमिक रूपमा घटदै गएको छ । गत असोजदेखि वर्षा पनि नभएकाले गत वर्षभन्दा पानीको बहाब घटेको आयोजनाले जनाएको छ ।

यस्तै पर्वत जिल्लाका अन्य जलविद्युत् केन्द्रमा पनि विद्युत् उत्पादन घटेको छ । चौध दशमलब आठ मेगावाटको मोदीखोला, १० मेगावाटको तल्लो मोदीखोला–१ र एक मेगावाटको पातीखोला जलविद्युत् केन्द्रमा पनि उत्पादन झण्डै ५० प्रतिशतले कमी आएको आयोजनाहरुले जनाएका छन् ।

Publish on: