पोखरा । दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका एक कृषकले चरितार्थ गरेका छन् ।
पोखरा लेखनाथ महानगरपालिका– ३३ भरतपोखरी जामुनाबोटका चन्द्रकान्त आचार्यले एक वर्षमा मह र मौरीसहितको घार बिक्रीबाट सात लाख रुपैयाँभन्दा बढी कमाएर सबैका लागि अनुकरणीय बनेका छन् ।
घरको वरिपरि आँगन, बारीको डिल र गोठको नजिक सेताम्मे रहेका ३७ वटा मौरीको घारबाट एक वर्षको अवधिमा ५५० किलो मह र मौरीसहितका १७ वटा घार बिक्रीबाट उहाँले सो आम्दानी गरेका हुन्। आचार्यले स्थानीय सेरना जातको मौरी रहेको आधुनिक घारबाट वर्षमा चार पटक मह काढ्ने गरेका छन् ।
‘ठूलो घारबाट एक पटकमा २० किलो र सानोबाट १५ किलोसम्म मह उत्पादन हुन्छ,’ उनले भने ।
घरमा आफ्नै लागि मह खाने सोख बढेपछि एक दशक अगाडि तीन हजार ५०० रुपैयाँमा खरिद गरेर ल्याएको एउटा घार विस्तार हुँदै जाँदा थाहै नपाई मौरीपालन व्यवसायी बन्न पुगेको उनी बताउँछन्। उत्पादित महलाई बजारको अभाव छैन । मह घरबाटै बिक्री हुने गरेको छ ।
आचार्यले शुद्ध अर्गानिक मह प्रतिकिलो एक हजार रुपैयाँ, दुई फ्रेम मौरीको घार आठ हजार रुपैयाँ तथा मह, मौरीसहित १० फ्रेमको घारलाई १५ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको बताए ।
सिद्धबाबा मौरी तथा बाख्रापालन फार्मका सञ्चालक आचार्यका अनुसार तापक्रम सन्तुलित टुनी काठको घार र रातो लालीगुराँसको फ्रेममा मौरीले मह उत्पादन बढी गर्ने गरेको पाइन्छ ।
उत्पादित मह र मौरीसहितको घार छिमेकी वडा, पोखरा बजार, जिल्लाका विभिन्न स्थानीय तहलगायत स्याङ्जा, तनहुँ, काठमाडौँसम्म पुग्ने गरेको आचार्यकी श्रीमती राधिकाले बतार्इन् ।
उनकाअनुसार मौरीका लागि खासै स्याहारसुसारको आवश्यकता नपरे पनि समय समयमा घारको सरसफाइ र कमिला, छेपारो, पुतली, माउसुली, खुम्रे, गहटे, बारुलालगायत जीवजन्तुले भने अति दुःख दिने गरेका छन् ।
घरमा आउने पाहुनालाई अर्गानिक महको स्वाद चखाएर स्वागत गर्दै आएका आचार्य दम्पत्तीले मह र खसीबोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । यही व्यवसायबाट छोराछोरीलाई उच्च शिक्षादीक्षा दिन सकेको आचार्य दम्पतीको भनाइ छ । उनीहरुका ठूलो छोरा डा विदुरप्रसाद आचार्य हाल प्रहरी निरीक्षकका रुपमा कार्यरत छन् भने अर्को छोरा फ्रान्स र छोरी अमेरिकामा छन् ।
SHARE YOUR THOUGHTS