औरहीमा विद्युत् नहुँदा अँध्यारो « Eglish Khabarhub

औरहीमा विद्युत् नहुँदा अँध्यारो



राजविराज । सप्तरीको अति विकट मानिएको डाकनेश्वरी नगरपालिका–३,  औरही गाउँमा बिजुली नहुँदा जनता अँध्यारोमा दिन बिताउँदैछन् ।

भारतीय सीमा नाकासँग जोडिएको सो गाउँमा अहिलेसम्म बिजुली नपुगेको स्थानीयवासी देवकुमार यादवले बताए । सदरमुकाम राजविराजदेखि पश्चिम दक्षिणमा अवस्थित सो गाउँमा हालसम्म विद्युत् नहुँदा मोबाइल चार्ज तथा गहुँ– धान कुटाउनीपिसाउनी  गर्नसमेत समस्या हुने गरेको गुनासो उनले गरे।

दलित, मुसलमान र यादवको बसोबास रहेको उक्त गाउँमा करिब पाँच वर्ष अगाडि नेपाल विद्युत् प्राधिकरणले खम्ब गाडे पनि अहिलेसम्म तार नदिएका कारण बिजुली बाल्नबाट आफूहरु वञ्चित भएको स्थानीयवासी मुकेशकुमार यादवले बताए।

तीन सय घरधुरी रहेको साविकको औरही गाविसबाट तीन लाख रुपैयाँमा खम्बा र तारका लागि बजेट छुट्याइए पनि हालसम्म विद्युत् नपुग्दा आफूहरुलाई भारतीय गाउँमा मोबाइल चार्जलगायत अति अवाश्यक काम गर्न जानुपर्ने बाध्यता रहेको मिरदुल यादवले दुखेसो पोखे । यता प्राधिकरणले भने त्यहाँ छिट्टै विद्युत् दिइने जनाएको छ ।

Publish on: