काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनलाई तिब्रता दिएपछि निर्माण सामाग्रीको मूल्य घट्न थालेको छ । विभागको अनुगमपछि सिमेन्टको मूल्य घटाउदै लगिएको हो ।
उद्योगीले विनाकारण मूल्य बढाएको भेटिएपछि घटाउन निर्देशन दिइएको विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए । विभागको यस्तो निर्देशनपछि केही उद्योगले मूल्य घटाएको लिखित जानकारी गराएको पनि महानिर्देशक दाहालको भनाइ छ ।
‘विनाकारण मूल्य बढाइएको बजार अनुगमनका क्रममा फेला पारेका थियौं, त्यसरी मूल्य नबढाउन हामीले निर्देशन दिएपछि हालसम्म १० वटाभन्दा बढी सिमेन्ट उद्योगहरुले मूल्य घटाएको भनी हामीलाई पत्र दिएका छन्,’ महानिर्देशक दाहालले क्लिकमाण्डूसँग भने ।
विभागले सिमेन्टको मूल्य घटाइएको दाबी गरेपनि केही उद्योगहरुले अल्पकालको लागि छुटको मात्रै ब्यवस्था गरेका पाइएको छ । मूल्य घटाउदा उपभोक्तालाई लामो समयसम्म लाभ हुने भएपनि उद्योगले निश्चित समयको लागि छुटको ब्यवस्था गरेर बढेकै मूल्य कायम गरेका पाइएको हो ।
सर्बाेत्तम सिमेन्टका मार्केटिङ म्यानेजर गोपाल सारडाले पछिल्लो समय सिमेन्टमा १५ देखि २० रुपैयाँ छुट राखिएको जानकारी दिएका छन् ।
अर्घाखाँची सिमेन्टले भने मूल्य नै घटाएको छ । सो सिमेन्टले दुई पटक गरेर प्रतिबोरा ३५ रुपैयाँ मूल्य घटाएर बेच्दै आएको छ भने प्रतिबोरा १० रुपैयाँ छुट दिएको अर्घाखाँची सिमेन्टका सेल्स एण्ड मार्केटिङ प्रमुख रमेश थापाले जानकारी दिए ।
विभागका अनुसार हालसम्म मारुती, अम्बे, सर्बोत्तम, हिमालयन र अर्घाखाँची लगायतका सिमेन्टहरुले मूल्य घटाएको जानकारी दिएका छन् ।
जगदम्बा सिमेन्टले प्रतिबोरा २० रुपैयाँ मूल्य घटाएको छ । केही समय अगाडि प्रतिबोरा ८ सय ८० रुपैयाँमा विक्री गरिएको जगदम्बा सिमेन्ट अहिले प्रतिबोरा ८६० रुपैयाँमा बेच्ने गरिएको सिमेन्टका मार्केटिङ प्रमुख जगननाथ दाहालले जानकारी दिए ।
SHARE YOUR THOUGHTS