कम्पनी रजिष्ट्रार कार्यालयले नेपाली भाषामा लेखिएको कागजात मात्रै लिने « Eglish Khabarhub

कम्पनी रजिष्ट्रार कार्यालयले नेपाली भाषामा लेखिएको कागजात मात्रै लिने



काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले नेपाली भाषामा लेखिएको कागजातमात्र बुझ्ने भएको छ । अन्य भाषामा लेखिएको कागजपत्र बुझ्न आफूहरु बाध्य नहुने भन्दै सार्वजनिक सूचना निकालेर कार्यालयले सो जानकारी दिएको हो ।

कार्यालयमा पेश भएका कागजातका आधारमा विभिन्न निर्णय गर्नु पर्ने भएकोले नेपाली भाषामा लेखिएको कागजात मात्र स्वीकार गर्न लागिएको कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार गिताकुमारी होमेगाँईले जानकारी दिइन् ।

‘हामीसँग दक्ष जनशक्तिको कमी छ, नेपाली भाषा बाहेक अन्य भाषामा लेखिएको कागजात कर्मचारीलाई बुझ्न कठिन हुने गरेको छ,’ होमेगाईले क्लिकमाण्डूसँग भनिन् ।

कम्पनीहरुले कार्यालयमा पेश गर्ने नियमित कागजातहरु (कम्पनीको साधारणसभाको निर्णय पुस्तिका वा निर्णय उतार, संचालन समितिको निर्णय, सेयर लगत, सेयर खरिद बिक्री सम्बन्धी कागजात, कम्पनीको वार्षिक विवरणहरु, कम्पनीको प्रबन्धपत्र, नियमावली, सोमा भएको संशोधन र कार्यालयमा दिने निवेदनलगायतका कागजात) नेपाली भाषामा मात्र पेश गर्नु पर्नेछ ।

नेपालका धेरै जस्तो कम्पनीहरुले कार्यालयमा पेश गर्ने कागजात अंग्रेजी भाषामा लेखेर बुझाउने गरेका छन् । नेपालको संविधानको धारा ७ अनुसार सरकारी कामकाजको भाषा देवनागरी लिपीमा लेखिने नेपाली भाषा हुने उत्लेख छ ।

कम्पनीहरुले पेश गरेको कागजातहरुका आधारमा कार्यालयले विभिन्न निर्णय गर्ने भएकाले भाषाको कठिनाइका आधारमा निर्णयहरु प्रभावित बन्ने गरेको होमेगाँई बताउँछिन् ।

नेपाली भाषा बाहेक अन्य भाषामा पेश भएका कागजात स्वीकार नगर्ने र अन्य भाषाको कागजातको आधारमा कुनै निर्णय नहुने समेत कार्यालयले जानकारी दिएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयले नेपाली भाषामा लेखिएको कागजात मात्र प्रयोग गर्ने भन्दै सार्वजनिक सूचना नै प्रकाशित गरिरहेको समयमा अर्को सकरकारी निकाय यातायात व्यवस्था विभागले भने अंग्रेजी भाषामा मात्रै सवारी साधनको नम्बर प्लेट वितरण गरिरहेको छ ।

कार्यालयको सूचना यस्तो छ

Publish on: