काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बृद्धिपछि जीवन बीमा कम्पनीबाट जाने कर्जामा बृद्धि भएको छ ।
पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीले बीमालेख धितो राखेर १७ अर्ब १० करोड रुपैयाँ कर्जा दिएका छन् । अघिल्लो वर्ष पुस मसान्तमा ११ अर्ब ४४ करोड रुपैयाँ बीमालेख धितो राखेर कर्जा दिएका थिए ।
एक वर्षको अवधीमा बीमालेख धितो राखेर दिने कर्जा ४७ प्रतिशतले बढेको छ ।
जीवन बीमा कम्पनीले कुल शुल्कको ९० प्रतिशत रकम कर्जा दिने गरेका छन् । कसैले बीमा शुल्क तिरेको अर्को महिना कसैले २ वर्षपछि कर्जा दिने गरेका छन् ।
नयाँ बीमा कम्पनीमा युनियन लाइफले मात्र यस्तो कर्जा दिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बैंकको ब्याजदर बढेपछि बीमा गराएका व्यक्तिहरुले धितो राखेर लिइने कर्जाको माग बढेको बताउँछन् ।
‘बीमा लेख धितो राखेर १० प्रतिशत ब्याजदरमा कर्जा पाइन्छ,’ झाले क्लिकमाण्डूसँग भने, ‘ब्याजदरपनि नबढ्ने भएको हुँदा यो धितो राखेर कर्जा लिनेहरु बढेका छन् ।’
बैंक तथा वित्तीय संस्थामा ऋण लगानी गर्ने रकम अभाव भएको समयमा बिमितलाई भने फाइदा पुगेको छ । बीमा कम्पनीले १० प्रतिशत ब्याजदरमा दिने ऋणमा वाणिज्य बैंकले नै मुद्दतिमा ११ प्रतिशत ब्याज दिन्छन् ।
सामान्यता बीमा गरेको २ वर्षपछि बीमालेख धितोमा ऋण दिने भएपनि एकल सावधिक बीमा योजनामा भने बीमा शुल्क तिरेको अर्को महिनामा ऋण दिन पाउने व्यवस्था छ ।
कम्पनी अनुसार ऋण दिने व्यवस्था भने फरक छ ।
तरलता अभाव भएको समयमा भने यसरी बीमालेख धितो राखेर लिने ऋणबाट बिमितलाई भने फाइदा रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सका सीइओ झा यसरी ऋण जाने रकम अझै बढ्ने बताउँछन् ।
बीमा कम्पनीले बिमितले तिरेको प्रिमियमको ९० प्रतिशतसम्म रकम ऋण दिने हुँदा धितो नै त्यसलाई मानिन्छ । कम्पनीले ब्याज लिने भएपनि किस्ता रकम भने बिमितले बीमा अवधी सकिएपछि बीमा रकम पाउने बेलामा कटाएर दिने गरेका हुन्छन् । कम्पनी अनुसार नियम फरक छ ।
बीमा समितिका निर्देशक राजु रमण पौडेल बीमा गर्नेलाई निश्चित अवधीपछि ऋण लिन पाउने व्यवस्था गरिएको हुने बताए ।
‘बीमाको पोलिसी अनुसार कर्जा दिन पाउने समय फरक हुन्छ,’ पौडेलले भने, ‘यसले बिमितलाई बीमा कम्पनीबाट आवश्यक परेको बेला कर्जा पाउने सुविधा दिन्छ ।’
यसरी बीमालेख धितो राखेर सबैभन्दा बढी ऋण नेपाल लाइफ इन्स्योरेन्सले दिएको छ । नेपाल लाइफले पुस मसान्तसम्ममा ७ अर्ब १८ करोड रुपैयाँ पुस मसान्तसम्ममा बीमा लेख धितो राखेर ऋण दिएको छ ।
अघिल्लो वर्ष नेपाल लाइफले बीमा लेख धितोमा ४ अर्ब ८२ करोड रुपैयाँ ऋण दिएको थियो । कतिपय फाइनान्स कम्पनीको भन्दा नेपाल लाइफले बीमालेख धितो राखेर दिने ऋण रकम बढी रहेको देखिन्छ ।
बैंक तथा वित्तीय संस्थामा ऋण लगानी गर्ने रकम अभाव भएको समयमा बिमितलाई भने फाइदा पुगेको छ । बीमा कम्पनीले १० प्रतिशत ब्याजदरमा दिने ऋणमा वाणिज्य बैंकले नै मुद्दतिमा ११ प्रतिशत ब्याज दिन्छन् । विकास बैंक फाइनान्स कम्पनीको ब्याजदर अझै बढी छ । यसरी बिमितलाई बीमा गरेको रकमबाट ऋण लिदा भने फाइदा नै पुगेको हुन्छ ।
नेपाल लाइफपछि बीमालेख धितो राखेर कर्जा दिने कम्पनीमा एलआईसी नेपाल रहेको छ । पुस मसान्तसम्मको तथ्यांक अनुसार एलआईसीले ५ अर्ब १९ करोड रुपैयाँ ऋण दिएको छ । अघिल्लो वर्षको पुस मसान्तमा ३ अर्ब ६१ करोड रुपैयाँ दिएको थियो । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसले २ अर्ब १३ करोड रुपैयाँ ऋण दिएको छ । अघिल्लो वर्षको पुस मसान्तमा १ अर्ब ४५ करोड रुपैयाँ थियो ।
यस्तै सरकारी लगानीको बीमा संस्थानले १ अर्ब १८ करोड,मेटलाइफले ८८ करोड, एशियन लाइफले ५८ करोड, प्राइमले ४४ करोड रुपैयाँ कर्जा दिएका छन् ।
सुर्याले १९ करोड, गुराँसले १४ करोड ९४ लाख कर्जा दिएका छन् । नयाँ कम्पनीले युनियन लाइफले ४ करोड रुपैयाँ कर्जा दिएका छन् ।
SHARE YOUR THOUGHTS