सिण्डिकेट विरुद्ध सरकार आक्रामक, अब बनेपादेखि काठमाडौंसम्म साझा र सिटी मेट्रोको बस चल्ने « Eglish Khabarhub

सिण्डिकेट विरुद्ध सरकार आक्रामक, अब बनेपादेखि काठमाडौंसम्म साझा र सिटी मेट्रोको बस चल्ने



काठमाडौं । यातायात व्यवस्था विभागले सिन्डिकेट तोड्न कोटेश्वर पूर्व बनेपा देखि धुलिखेलसम्म साझा र मेट्रोसिटीको बसलाई पनि इजाजत दिएको छ ।
मयुर यातायातको बसलाई अवरोध गरेका छन् । आज कोटेश्वर पूर्व चल्ने १३ वटा समितिका गाडीमा २ वटा मात्र चलेका छन् ।

यातायात व्यवस्था विभागले विभागले पटके इजाजत दिँदै आज मात्रै साझा यातायात प्रालिका सातवटा, मेट्रो सिटीका केही बस बिहान ८ बजेदेखि बनेपा–धुलिखेल रुटमा पठाएको हो ।

विभागले कम्पनी मोडलमा पञ्जीकरण भएर आएका जुनसुकै सवारीलाई स्थायी वा अस्थायी जुनसुकै इजाजत दिने जनाएको छ ।

विभागले गाडी नचलाउने समितिको रुट परमिटपनि खारेज गर्न सक्ने चेतावनी दिएको छ ।

काभ्रे बस सेवा समिति र काभ्रे मिनिबस सेवा समितिलगायत १३ वटा यातायात समिति मिलेर कोटेश्वर पूर्वमा कुनै पनि यातायात नचलाउने निर्णय गरेको जनाएको छ ।

यातायात व्यवस्था विभागले सिन्डिकेट तोड्नकै लागि सरकारको समेत लगानी रहेको साझा यातायातसहित ५ वटा कम्पनीलाई अस्थायी रुट इजाजत दिएको हो ।

मयुर यातायात प्रालिले बनेपा(धुलिखेलसम्म सुविधायुक्त ठुला बस चलाएपछि नेपाल यातायात व्यवसायी महासंघकै संरक्षणमा यस रुटमा चलिरहेका ११ कम्पनीले सडकमा अवरोध गरेका थिए । सिन्डिकेट पक्षधरले मयुरका केही बस तोडफोडसमेत गर्दै यातायात ठप्प बनाएका थिए ।

रुट इजाजत पाउनेहरुमा काठमाडौँमा उपत्यका र आसपासमा गुड्ने साझा यातायात, मेट्रो सिटी, शिवदर्शन यातायात, अन्नपूर्ण यातायात, मयूर र मध्यउपत्यका बस प्रालि सेवा रहेका छन् ।

रुट इजाजत पाएकाहरुलाई सरकारले बुधबारदेखि अरनिको राजमार्गस्थित कोटेवश्वर पूर्व बनेपा–धुलिखेलसम्म सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अस्थायी अनुमति दिएको छ ।

काभ्रे मिनी बस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैंजुले यातायात व्यवस्था विभागबाट मयुर यातायातलाई सुविधा सम्पन्न ठाउँमा चल्नको लागि मात्रै इजाजतपत्र दिएको भन्दै त्यसविरुद्धमा पूर्व घोषित कार्यक्रमअनुसार बस सेवा बन्द गरेको बताए ।

“मयुरको २४ वटा गाडीलाई मात्रै राम्रो ठाउँमा इजाजतपत्र दिएर भएन, ग्रामीण भेगमा पनि चलाउनुप¥यो” सैजुले भने ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कोटेश्वर पूर्वको समितिले बन्द गरेको उल्लेख गर्दै त्यसमा आफूहरुको नैतिक समर्थन मात्रै रहेको बताए ।

Publish on: