गरिमा विकास बैंकले सुरु गर्यो ‘गरिमा रेमिट’ « Eglish Khabarhub

गरिमा विकास बैंकले सुरु गर्यो ‘गरिमा रेमिट’




काठमाडौं । गरिमा विकास बैंकले आफ्नो रेमिट प्रोडक्ट ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक डा श्रेष्ठले विकास बैंकले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरुमा विविधिकरण गर्दै जाने क्रममा गरिमा रेमिट जस्तो महत्वपूर्ण प्रोडक्ट सञ्चालनमा ल्याईएको र यस रेमिटको माध्यमबाट देशका विभिन्न स्थानहरुमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने बताए ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बर्तमान प्रतिश्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विकास बैंकले गरिमा रेमिट नामको रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको र छोटो समयभित्र नै गरिमा रेमिटलाई एउटा स्थापित रेमिट ब्राण्ड बनाउने गरि कार्य गरिने बताए ।

उनले छिट्टै नै विदेशी मुद्रा विनिमय सम्बन्धी कार्य गर्ने तथा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याईने जानकारी दिए ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको विकास बैंकले बैशाख महिनामा प्रदेश नं.१ का झापा,मोरङ्ग र सुनसरी जिल्लामा ८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हाल राजधानीमा ५शाखा कार्यालय सहित देशभर ५७ वटा शाखा कार्यालय र १२ वटा एटीएम संचालनमा रहेको छन ।

विकास बैंकले छिट्टै नै झापाको दमक, काठमाण्डौंको नयाँ बानेश्वर, भक्तपूरको सुर्यविनायक, ललितपूरको कूमारीपाटी, रुपन्देहीको योगीकुटी, कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, दाङ्गको घोराही र पोखराको रामबजारमा समेत शाखाकार्यालय स्थापना गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ । यी शाखा थप भएपछि गरिमाका कूल शाखा संख्या ६६ पुग्नेछन् ।

गरिमाको चूक्ता पुँजी २ अर्ब ५३ करोड४८ लाख ७९ हजार रुपैयाँ रहेको छ । विकास बैंकले २०७५ बैशाख मसान्तसम्म १८ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन र १७ अर्ब ५० करोड रुपैंया कर्जा लगानी गरेको छ । उक्त अवधिसम्म विकास बैंकले ४४ करोड सञ्चालन नाफा गरेको छ ।

Publish on: