काठमाडौं । टिभीएस मोटरसाइकल अब नेपालमै बन्ने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले नेपालमै उत्पादन गर्न लागेको हो ।
स्थापित व्यावसायिक घराना शंकर ग्रुप अन्तर्गतको कम्पनी जगदम्बा मोटर्सले ५० करोड लगानीमा नेपालमै उत्पादन गर्नका लागि बाराको सिमरामा एसेम्ब्लिङ प्लान्ट निर्माण गरिरहेको छ ।
अबको ६/७ महिनामा टीभीएस बाइक नेपालमै उत्पादन गर्नेगरी काम गरिरहेको शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले जानकारी दिए ।
‘५० करोड लगानीमा अबको ६/७ महिनामा नेपालमै उत्पादन गर्नेगरी काम गरिरहेका छौं,’ प्रबन्ध निर्देशक अग्रवालले क्लिकमाण्डूसँग भने ।
सिमरामा ६ बिगाहा जमिनमा एसेम्ब्लिङ प्लान्ट निर्माण भइरहेको उनले जानकारी दिए । अग्रवालका अनुसार तत्काल २ सय सीसीसम्मका मोटरसाइकल र स्कुटर उत्पादन गर्ने गरिनेछ ।
यसरी एसेम्ब्लिङमा प्लान्ट राखेर स्वदेशमै सवारीसाधन बनाउँदा सरकारले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । देशमै उत्पादन गर्दा सयौं जनालाई रोजगारी सिर्जना हुने र त्यसले अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने उनले बताए ।
‘सँधैभरी सवारीसाधनको ट्रेडिङ मात्रै गरेर हुँदैन भनेर एसेम्बल गर्न लागेका हौं,’ अग्रवालले भने, ‘बजेटले विशेष सम्बोधन गर्छ भन्ने अपेक्षा थियो । तर, गरेन ।’
अन्य देशमा पनि सुरुमा एसेम्ब्लिङ (बाहिरबाट सामान ल्याएर जोड्ने) र विस्तारै विभिन्न पार्टहरु उत्पादन गरेको इतिहास भएकाले सरकारले नेपालमा पनि पार्ट उत्पादन गर्न सहज वातावरण बनाइदिनु पर्ने उनको माग छ ।
‘सरकारले वातावरण बनाइदियो भने नेपालमै विभिन्न पार्टहरु उत्पादन गर्न सकिन्छ, हामी नेपालमै पार्ट उत्पादन गर्ने तयारीका साथ एसेम्ल्बिङ प्लान्ट राखेका हौं,’ अग्रवालले भने ।
गत चैतमा भएको नेपाल अटोमोवाइल्स डिलर एसोशिएसन (नाडा) को साधारणसमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले सवारीसाधनको ट्रेडिङ मात्रै नगरी एसेम्क्बल्ड गर्न सुझाएका थिए ।
‘एसेम्बल उद्योगलाई सरकारले सहुलियत दिने हो भने यहाँ उत्पादन भएका सवारीसाधनको मूल्य पनि सस्तो पर्छ, तर सरकारले त्यस्तो नीति नलिएका कारण अहिले देशमा उत्पादन गर्दा २र४ हजार रुपैयाँ मात्रै सस्तो पर्छ,’ अग्रवालले प्रष्ट पारे ।
अर्थमन्त्रीले यस्तो सुझाबसँगै व्यवसायीहरु एसेम्बल प्लान्ट राख्न उत्साहित भएका थिए । तर, बजेटमा भने यसबारे अर्थमन्त्रीले केही उल्लेख गरेका छैनन् ।
सरकारले सहुलियत नदिएका कारण देशमै उत्पादन भएपनि मूल्यमा भने खासै फरक नपर्ने अग्रवालले बताए ।
‘एसेम्बल उद्योगलाई सरकारले सहुलियत दिने हो भने यहाँ उत्पादन भएका सवारीसाधनको मूल्य पनि सस्तो पर्छ, तर सरकारले त्यस्तो नीति नलिएका कारण अहिले देशमा उत्पादन गर्दा २/४ हजार रुपैयाँ मात्रै सस्तो पर्छ,’ उनले प्रष्ट पारे ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेशनले यसअघि नै एसेम्बल प्लान्ट राखेर मोटरसाइकल उत्पादन गरिसकेको छ । बजाजले १ सय २५ सीसीसम्मका प्लाटिनियम र डिस्कोभर बाइक उत्पादन गरिरहेको छ ।
हुण्डाइ गाडीको नपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले पनि नेपालमै एसेम्बल प्लान्ट राखेर गाडी उत्पादन गर्ने तयारी गरिरहेको बताएको छ ।
SHARE YOUR THOUGHTS