सञ्चालन भो प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान « Eglish Khabarhub

सञ्चालन भो प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान



काठमाडौँ । सरकारले विद्यार्थी भर्ना अभियानअन्तर्गत आज देशभर ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको छ ।

‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ व्यावहारिक शिक्षा प्रदान गर्न सबै जिल्लामा आज जागरण अभियान सञ्चालन गरिएको हो ।

अभियानकै शुरुवातमा आज देशभरि नै प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

प्रभातफेरीपछि आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा सीप र उत्पादनमा आधारित प्राविधिक शिक्षा हुने बताए ।

उनले नेपालको शिक्षालाई विश्व शिक्षासँग जोड्न पनि प्राविधिक र व्यावहारिक शिक्षा आवश्यक रहेको बताए । ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई साकार पार्न सरकार प्राविधिक शिक्षामा लगानी बढाई यसको विस्तार गर्ने योजनामा रहेको पनि उनले बताए ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीलाई पुनर्गठन गर्ने तयारी गरिएको पनि जानकारी दिए ।

उनले भने – “चिकित्सा क्षेत्रमा सुधारकै लागि भनी अब डा गोविन्द केसीले पटक पटक अनशन बस्नु पर्दैन । सबै मुद्दाको समाधान वार्ताको माध्यमबाट खोजिनुपर्छ ।”

कार्यक्रममा शिक्षा सचिव खगराज बरालले प्राविधिक शिक्षामा विगतको भन्दा अहिले जागरण बढेको जस्तो देखिए पनि जनशक्ति उत्पादनमा भने अझै कमजोरी रहेको बताए ।

कार्यक्रममा सांसद एवं अनेरास्ववियुका अध्यक्ष नविना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सरकारले प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताए ।

कार्यक्रममा सिटिइभिटीका सदस्य सचिव पुष्प वाग्ले, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष कश्यप पौडेल तथा निजी प्राविधिक शिक्षालय महासंघका अध्यक्ष शैलेन्द्रमोहन झालगायतले सबै स्थानीय तहमा प्राविधिक शिक्षाको विस्तार गर्नुपर्ने बताए । रासस

Publish on: