काठमाडौं । कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणी खनालले नेपालमा उत्पादन भएको घिउ रामदेवको घिउ भन्दा गुणस्तरीय भएको बताएका छन् ।
विदेशी घिउ नेपाल भित्रिने गरेको, तर अरुको भन्दा धेरै गुणस्तरीय नेपाली घिउ भने भण्डारणमा कुहिने अवस्थामा रहेको बताउँदै मन्त्री खनालले भारतको रामदेव बाबाको घिउ भन्दा नेपाली घिउ धेरै गुणस्तरीय भएको बताएका हुन् ।
राष्ट्रिय कृषक महासंघले आयोजना गरेको जैविक खेतिः अवस्था, अवसर र चुनौतिहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालमा राम्रो काम गर्ने धेरै भएको तर, त्यसलाई कार्ययोजनामा ढाल्ने नीतिमा रहेका समस्याहरुलाई सच्याउने र त्यसपछि पुरै अभियानको रुपमा अगाडि बढाउन पहल भने राज्यले नै गर्नुपर्ने बताएका छन् ।
‘विगतमा २० वर्षे कृषि रणनीति बनेको रहेछ, त्यो रणनीतिले अनेक कुरा भन्छ जुन किसानले बुझदैनन्, त्यो एउटा ट्याँक्टरको प्रोजेक्टर बनाए जस्तो रहेछ, हाम्रो कृषि धेरै खस्केको छ, त्यसलाई सही ट्रयाक दिन जुरुरी छ,’ मन्त्री खनालले भने ।
सोही अवसरमा उनले नेपालमा उत्पादन भएको माछा खाना योग्य गुणस्तरीय भए पनि मूल्य १ सय २० रुपैयाँ भएकाले भारतबाट आएको झिङ्गा भन्किरहेको ८० रुपैयाँ केजी माछा किन्ने चलनलाई हटाउन आग्रह गरे ।
कर्णाली प्रदेशका सांसद चन्द्रबहादुर शाहीले अग्रानिक खाना धनीले हैन गरिबले खाने गरेको बताए । तर, त्यही गरीबाको खाना खोसेर बाहिर निर्यात गर्नु अहिलेलाई अनुचित हुने बताए ।
SHARE YOUR THOUGHTS