काठमाडौं । राजधानीमा सञ्चालन भइरहेको १२ औं राष्ट्रिय शैक्षिक परामर्श (ईक्यान) मेलाको अन्तिम दिन आज रहेको छ ।
मेलामा अहिलेसम्म विभिन्न चर्चित व्यक्तिले अवलोनन गरेका छन् ।
मेलाको तेस्रो दिन शनिबार पनि अवलोकन गर्न आउने विद्यार्थी र अभिभावकको घुइँचो बढेको छ । साउन ३ गतेदेखि सुरु भएको मेलामा सुरुका दुई दिनमा ५५ हजारभन्दा बढीले मेलाको अवलोकन गरिसकेकोमा तुलनात्मक रुपमा आज झन् संख्या बढेको छ ।
तेस्रो दिन मात्रै करिब ३५ हजारले मेलाको अवलोकन गरेको ईक्यानले जनाएको छ ।
शनिबार भूतपूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ट नेता माधवकुमार नेपालले मेलाको अवलोकन गरेका छन् ।
मेला अवलोकन गर्दै नेता नेपालले ईक्यानले विद्यार्थीको उच्च शिक्षाका लागि महत्वपूर्ण र सराहनीय कार्य गरेको भन्दै नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि विदेश पठाउने मात्र नभइ विदेश गएका विद्यार्थीहरुलाई ज्ञान, सीप हासिल गरेपश्चात् स्वदेशमा फिर्ता गराउने खालका कार्यक्रममा पनि उत्तिकै जोड दिनुपर्ने बताए । उनले विद्यार्थीको ज्ञान, सीप र अनुभवको स्वदेशमा प्रयोगका सन्दर्भमा राज्यले पनि नीतिगत रुपमा कार्य गर्नुपर्नेमा जोड दिए ।
यस्तै, नेपाली चलचित्रका चिरपरिचित नायक विनय श्रेष्ठ र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष एवम् चर्चित पत्रकार ऋषि धमलाले पनि मेलाको अवलोकन गरेका छन् ।
मेला अवधिभरमा करिब १ लाखभन्दा बढीले अवलोकन गरी वैदेशिक उच्च शिक्षाका लागि राय, परामर्श लिन सक्ने लक्ष्य लिइएको आयोजक संस्था नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का उपाध्यक्ष राजेन्द्र रिजालले बताएका छन् । उनका अनुसार ईक्यान मेलामा विद्यार्थी र अभिभावकहरुले विशेष चासो, उत्सुकता र जिज्ञासाका साथ परामर्श लिइरहेका छन् ।
शनिबार विदाको दिन अभिभावकहरुले पनि समय दिन सक्ने भएकाले अधिकांश विद्यार्थीहरु अभिभावकको साथमा मेला अवलोकन गर्न आएको ईक्यान पूर्वाञ्चल शाखा अध्यक्ष रोशन शर्मा निरौलाको भनाइ छ । उनले परामर्शदाताहरु गर्मी र बर्षाको समेत परवाह नगरी सल्लाह र परामर्शमा व्यस्त रहेको बताए ।
मेलामा रहेका २२८ वटा शैक्षिक परामर्शदातृ संस्थाका स्टलबाट परामर्शदाताहरुले सेवा दिइरहेका छन् । मेलामा अष्ट्रेलिया, यूरोप, जापान, अमेरिका, क्यानाडा, कोरिया, मलेशिया, फिलिपिन्स, भारत लगायत देशको शिक्षा नीति, शैक्षिक कार्यक्रम, यूनिभर्सिटी, कलेज र विषयहरुका बारेमा सम्पूर्ण जानकारी लिन सकिन्छ ।
मेलामा आउने अवलोकनकर्ताहरुले विशेष गरी ईन्जिनियरिङ, मेडिकल, आई.टी., नर्सिङ, व्यवस्थापन जस्ता विषयहरुका बारेमा जानकारी लिन बढी चासो राखेको पाइएको छ ।
प्रवेश निःशूल्क गरिएको यस शैक्षिक मेलामा निलगिरी डेन्टल प्रा. लि.बाट निःशुल्क डेन्टल क्याम्प, मनमोहन मेमोरियल अस्पतालबाट निशुल्क प्राथमिक उपचार केन्द्र एवम नेपाल रेडक्रस सोसाइटीबाट रक्तदान कार्यक्रम नियमित रुपमा मेला अवधिभरका लागि सञ्चालन भइरहेको छ ।
मेलाको टाईटल स्पोन्सर्समा युरो एसिया एजुकेसन कन्सल्टेन्सि प्रा. लि., ईन एसोसिएसन विथमा मर्सि एजुकेसन कन्सल्टेन्सि प्रा. लि., मेन स्पोन्सर्समा काठमाण्डौ ईन्फोसिस एजुकेसनल कन्सल्टेन्सी प्रा. लि रहेका छन् ।
SHARE YOUR THOUGHTS