जी सिने अवार्ड यस वर्ष नेपालमा हुँदै, भारतीय टोलीले ओलीलाई भेट्यो « Eglish Khabarhub

जी सिने अवार्ड यस वर्ष नेपालमा हुँदै, भारतीय टोलीले ओलीलाई भेट्यो



काठमाण्डौ । जी सिने अवार्ड वितरण समारोह यस वर्ष नेपालमा हुने भएको छ । अवार्ड बितरण समारोह पहिलो पटक नेपालमा हुन लागेको हो । चर्चित भारतीय टीभी च्यानलले जीटीभीले बलिउड फिल्म अवार्ड वर्सेनि गर्दै आएको छ ।

यो अवार्ड समारोह नेपालमा गर्नका लागि जी टीभीको टोली शनिबार नेपाल आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र कलाका दिनेश डीसीको संयोजनमा टोली नेपाल आएको बुझिएको छ ।

टोलीमा एमपी सुभाष चन्द्र, डा अमर सिंह, एसेल ग्रुपकी चेयरम्यान तथा जी टिभी नेटवर्ककी संस्थापक एक्स एमपीर तथा नायिका जया प्रदा आदि नेपाल आएका छन् । टोलीले शनिबार प्रधानमन्त्री ओलीसँग भेट गरेको छ ।

टोलीमा सहभागी सुभाष चन्द्रले आउँदो नोभेम्वर–डिसेम्वरमा जी सिने अवार्ड समारोहको आयोजना काठमाण्डौ मै गर्ने घोषणा समेत गरेका छन । हरेक वर्ष नेपाली फिल्मका लागि समेत एक अवार्डको व्यवस्था गरिने प्रधानमन्त्रीसँगको भेटमा घोषणा समेत गरे ।

भारतीय टोली फिल्मसिटी निर्माणको लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएको थियो । जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष सुवास चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशको आफुलाई आकर्षित गरेको बताए ।

प्रधानमन्त्री ओलीसँग भारतीय टोलीको भेट हुँदा पर्यटन मन्त्री रबिन्द्र अधिकारी, नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै निर शाह, शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, झरना थापा, सञ्चीता लुइँटेल, प्रदेश सभा सदस्य तथा गायिका कोमल वली, गीतकार सम्भुजित बाँस्कोटा, निर्माता केशव भट्टराई, निर्देशक दिनेश डि सि लगायतका नेपाली कलाकारहरुको उपस्थिति रहेको थियो ।

शनिबार साँझ भेट्न आएको सो टोलीलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गर्दै जी सिने अवार्ड समारोह कै अघिपछिको मिति पारेर काठमाडौंमा हिमालयन कनक्लेभको समेत आयोजना गरिने बताएका थिए ।

तस्बिर  सौजन्य– प्रधानमन्त्रीको कार्यालय, रासस

Publish on: