आक्रामक व्यवसायमा उत्रेको एनआईसीले ८२ करोड रुपैयाँ लाभांश बाड्न सक्ने « Eglish Khabarhub

आक्रामक व्यवसायमा उत्रेको एनआईसीले ८२ करोड रुपैयाँ लाभांश बाड्न सक्ने



काठमाडौं । आक्रामक व्यवसायमा उत्रेको एनआइसी एशियाले ८२ करोड रुपैयाँ लाभांश बाड्न सक्ने रिपोर्ट देखाएको छ ।

एनएफआरएसमा आएको बैंकको वित्तीय विवरणले ८२ करोड रुपैयाँ लाभांश बाड्न सक्ने नाफाको रुपमा देखाएको छ । ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकले १० प्रतिशत लाभांश दिन सक्ने यो विवरणमा देखिन्छ ।

आक्रामक व्यवसाय विस्तारमा उत्रेको एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको विवरण सार्वजनिक गरेको छ ।

अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ४६ करोड थियो । आक्रामक व्यवसाय विस्तारमा उत्रेको एनआईसी एशिया बैंकले निक्षेप र कर्जा प्रवाहमा ठूलो छलाङ मारेको छ ।

अघिल्लो वर्षको असार मसान्तसम्ममा ८६ अर्ब ६९ करोड निक्षेप रहेकोमा एनआईसी एशिया बैंकले यो वर्ष १ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप पुर्याएको छ । यस्तै कर्जा १ खर्ब २१ अर्ब रुपैयाँ दिएको छ । अघिल्लो वर्ष एनआईसी एशियाले ७२ अर्ब रुपैयाँ ऋण दिएको थियो ।

एनआईसी एशियाले निक्षेप बढाउनुको पछाडी उसले दिएको ब्याजदरलाई मान्न सकिन्छ । एनआईसी एशियाले १३ अर्ब २९ करोड रुपैयाँ ब्याज आम्दानी गर्दा ब्याज खर्च ९ अर्ब ३३ करोड गरेको छ । यसले बैंकले निक्षेप तान्नको लागि गरेको खर्चलाई देखाएको छ ।

जसले गर्दा खुद ब्याज आम्दानी बैंकले ३ अर्ब ९६ करोड गरेको छ ।
अघिल्लो वर्ष ६ अर्ब ९० करोड ब्याज आम्दानी गर्दा ब्याज खर्च ४ अर्ब ३६ करोड हुँदा खुद ब्याज आम्दानी २ अर्ब ५३ करोड रुपैयाँ थियो ।

बैंकले फि तथा कमिसनबाट ८६ करोड रुपैयाँ कमाएको छ ।

बैंकले नयाँ तरिकाले वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा वितरण योग्य मुनाफा १ अर्ब ४९ करोड देखाइएको छ । जसमा नियामकको निर्देशन अनुसार ६७ करोड नोक्सान हुने र ८२ करोड ४६ लाख रुपैयाँ बाड्न सक्ने मुनाफाको रुपमा देखाइएको छ ।

Publish on: