किन घट्यो युनिलिभरको सेयर मूल्य ? रामदेब बाबादेखि बैंक ब्याजदरसम्मलाई दोष « Eglish Khabarhub

किन घट्यो युनिलिभरको सेयर मूल्य ? रामदेब बाबादेखि बैंक ब्याजदरसम्मलाई दोष




काठमाडौं । गत बर्षको भदौ १४ गते प्रतिकित्ता ३० हजार ७ सय २ रुपैंया पर्ने यूनिलिभर नेपालको सेयर मूल्य अहिले २२ हजार ५९४ रुपैयाँ छ ।

हाल यूनिलिभरको सेयर मूल्य निरन्तर घट्दो क्रममा छ । हिजो (साउन २८, २०७५) मा प्रतिकित्ता २३ हजार ६० रुपैंयामा कारोबार भएको सो कम्पनीको सेयर मूल्य आज (साउन २९, २०७५) मा प्रतिकित्ता २२ हजार ५ सय ९४ रुपैंयामा कारोबार बन्द भयो ।

अघिल्लो दिनकोभन्दा सो दिन युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ४६६ रुपैयाँले घट्यो । गत बर्षको भदौसँग तुलना गर्ने हो भने यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ हजार १०८ रुपैयाँले घटेको छ ।

दोस्रो बजारमा युनिलिभरको सेयरलाई ब्ल्युचिप्स मानिन्छ । युनिलिभरको हाल ९ लाख २० हजार ७ सय कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छ । कम्पनीको बजार पूँजीकरण २० अर्ब ८० करोड २२ लाख ९५ हजार ८ सय रुपैंया रहेको छ ।

किन घट्यो सेयर मूल्य ?
सुचिकृत कम्पनीले आफ्नो नाफाबाट लगानीकर्तालाई दिने प्रतिफलभन्दा बैंकको ब्याजदर नै उच्च भएका कारण ब्ल्युचिप्स कम्पनीको पनि सेयर मूल्य घटेको लगानीकर्ता बताउँछन् ।

‘बैंकको व्याज जति पनि फाइदा नपाइने भएकाले लगानीकर्ता यस्ता महङ्गा कम्पनीको सेयरबाट पर भएका हुन्,’ नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार भन्छन् ।

यस्तै अन्य कम्पनीको सेयर मूल्य घटेकोले पनि महंगा सेयर बेच्ने र बिक्रीकर्ता बढेका कारण महंगा कम्पनीको सेयर घटेको उनको भनाइ छ ।

‘कतिपय कम्पनीहरुको सेयर मूल्य रियल भ्यालुभन्दा कम भइसकेको छ, यस्तो बेलामा लगानीकर्ता महंगो कम्पनीको सेयर बेचेर रियल भ्यालूभन्दा कम मूल्य भएका कम्पनीको सेयरतर्फ आकर्षित हुने भएकोले पनि मूल्य घटेको हुन सक्छ,’ रौनियारले भने ।

बजार नै घट्दो क्रममा रहेका बेला सबै प्रकारका कम्पनीको सेयर मूल्य घट्नु स्वभाविक नै भएको उनको तर्क छ ।

लगानीकर्ता ज्वाला गौतमको मत भने भिन्न छ । उनी युनिलिभरको प्रतिस्पर्धीका रुपमा अर्काे बलियो कम्पनी आएकोले युनिलिभरको भविष्यप्रति प्रश्न उठ्न सक्ने भएकोले लगानीकर्ता बाहिरिन खाजेको बताउँछन् । उनले रामदेब बाबाको पतन्जलीले उत्पादन गर्ने बस्तुप्रति सर्बसाधारणको आकर्षण बढेका कारण युनिलिभरको उत्पादनको माग घट्न सक्ने अनुमान गरे ।

‘युनिलिभरको सेयर मूल्य घटनुमा अन्य कारण पनि होलान् तर रामदेब बाबाको कम्पनी आएपछि सेयर मूल्यमा हेरफेर भएको पक्का कारण हो,’ गौतमले भने ।

युनिलिभरले ८०० प्रतिशतसम्म बोनस दिएको उदाहरण छ । राम्रो बोनस दिइरहेको कम्पनीको मूल्यमा एक्कासी हुने घटबढले लगानीकर्तामा ठूलो प्रभाव पार्ने उनको बुझाई छ ।

अर्का लगानीकर्ता डुपेन्द्र भट्टराईका अनुसार ठूला कम्पनीले दिने प्रतिफल वास्तविक रुपमा कम हुन्छ । सिमित लगानीकर्तासँग यस्ता कम्पनीको सेयर हुन्छ । यस्तो महंगा कम्पनीको सेयर किनेर पाउने प्रतिफल मध्यमस्तरका कम्पनीको सेयरबाट पाउने वास्तविक प्रतिफलभन्दा कम हुने भएकोले आम लगानीकर्ताको खासै चासो नहुने उनको भनाइ छ । उनले पनि लगानीकर्ताले बैंक ब्याजदरलाई कम्पनीले दिने बोनससँग तुलना गर्ने गरेका कारण अहिले मूल्य घटेको हुन सक्ने बताए ।

अर्का लगानीकर्ता ऋषीराम खनाल सेलिङ प्रेसरका कारण समग्र बजार नै घटिरहेको बेलामा कुनै कम्पनीको सेयर मूल्य घट्नु स्वभाविक भएको बताउँछन् ।

Publish on: