बाजपेयीको अन्त्यष्टीमा सहभागी हुन परराष्ट्रमन्त्री नयाँ दिल्लीमा « Eglish Khabarhub

बाजपेयीको अन्त्यष्टीमा सहभागी हुन परराष्ट्रमन्त्री नयाँ दिल्लीमा



काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपालको प्रतिनिधित्व गर्दै भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा भाग लिन आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

आजै अपराह्न नयाँ दिल्लीमा हुने अन्त्येष्टिमा भाग लिएर पररष्ट्रमन्त्री ज्ञवाली भोलि स्वदेश फर्कन कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कार्यवाहक सभापति निधि भारत प्रस्थान
यता, नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँ दिल्ली प्रस्थान गरेका हुन् । नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने बाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न काङ्ग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई भारत पठाएका हुन् ।

बाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो । कार्यवाहक सभापति निधि शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

सन्त नेता वाजपेयीको अपरान्ह् ४ बजे अन्त्येष्टि
यता, तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल अटल विहारी वाजपेयीलाई भारतीय नागरिकले राजनीतिक दलको नेता या भारतका पूर्वप्रधानमन्त्रीका रुपमा मात्र नभएर एकजना सन्त नेताका रुपमा पनि हेर्ने गर्छन् ।

अविवाहित रहेका र एकजना कविको पनि पहिचान बनाएका यस्ता नेता वाजपेयीको बिहीबार साँझ ५ बजे निधन भएको छ । अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स (एम्स) ले बिहीबार साँझ उनको निधनको घोषणा गरेपछि भारतीय राजनीतिमा उहाँको योगदान र व्यक्तित्वको चर्चा शुरु भएको छ ।

उनी भारतमा तीन पटक प्रधानमन्त्री बनेका थिए । उनको निधनप्रति दुख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द मोदीले भारतवर्षमै ठूलो र अपुरणीय क्षति पुगेको भनेका छन् । उनले वाजपेजी भारतका एक सम्मानित व्यक्ति भएको पनि बताए ।

करिब ३६ घण्टादेखि उनको स्वास्थ्यमा गम्भीर सङ्कट उत्पन्न भएको समाचारहरु आएका थिए । त्यसो त उनी लामो समयदेखि नै सो अस्पतालमा रहेका थिए । वाजपेयी भारतीय जनता पार्टी (बिजेपी)का संस्थापक नेता हुन् ।

हाल भारतको राज्य सत्ता सोही पार्टीले चलाएको छ र सोही पार्टीका नेता नरेन्द्र मोदी यहाँको प्रधानमन्त्री छन् । प्रधानमन्त्री मोदीले उनलाई आफ्नो राजनीतिक जीवनको प्रेरणाको स्रोतका रुपमा लिन्छन् ।

मधुमेहका बिरामी वाजपेयीका ९३ बर्षीय नेता गत जुन ११ देखि एम्स अस्पतालमा उपचाररत थिए । उनलाई मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या देखिएको थियो । सो अस्पतालले बिहीबार उनको स्वास्थ्य अवस्था सार्वजनिक गर्न जारी गरेको विज्ञप्तिमा अवस्था ‘चिन्ताजनक’ भनेको थियो । त्यसको केही घन्टापछि उनको निधनको घोषणा भएको हो ।

बिहीबार साँझ वाजपेजीलाई दिल्लीको उनको निवासमा नै राखिएको थियो । उनको राजकीय सम्मानका साथ शुक्रबार अपरान्ह ४ बजे अन्त्येष्टि गरिने विजेपीका प्रमुख अमित शाहले बताए ।

वाजपेयीको श्रद्धाञ्जलिका लागि शुक्रबार बिहानबाट मध्याह्न १ः३० बजेसम्म उनको पार्थिव शरीरलाई दीन दयाल उपाध्याय मार्गमा रहेको विजेपीको मुख्य कार्यालयमा राखिएको थियो ।

Publish on: