मन्त्री पण्डित भन्छन्– लोकसेवा आयोगले कर्मचारी विज्ञापन रोक्दैन « Eglish Khabarhub

मन्त्री पण्डित भन्छन्– लोकसेवा आयोगले कर्मचारी विज्ञापन रोक्दैन



भक्तपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताएका छन् ।

उनले भने, “लोकसेवा आयोगले धमाधम नयाँ जनशक्ति निकाल्दै छ, आयोगले विज्ञापन रोक्दैन, आवश्यकताअनुसार खोलिरहन्छ, ती कर्मचारी स्थानीय तहमा पठाइन्छ, कर्मचारी अभाव हुँदैन ।”

भक्तपुरबाट प्रकाशित हुँदै आएको डोलेश्वर दैनिकको प्रथम वार्षिकोत्सव एवं इ डोलेश्वर डट कम अनलाइन संस्करणको आज आयोजित शुभारम्भ कार्यक्रममा मन्त्री पण्डितले पत्रकारले पनि सही ढङ्गले आफ्नो जिम्मेवारी पूरा गरे कुनै पनि कानूनदेखि डराउनु नपर्ने बताए ।

सरकार, जनता, कर्मचारी, पत्रकार सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री पण्डितले भने, “पत्रकार मित्रहरु गल्ती गर्नुभएको छैन भने देवानी तथा फौजदारी संहिताबाट डराउनु पर्दैन, कुनै दण्ड भोग्नु पनि पर्दैन, यदि गल्ती गर्नुभएको छ भने छुट माग्न पाउनु हुन्न ।”

कार्यक्रममा सांसद महेश बस्नेतले लोकतन्त्रलाई अराजकतन्त्रका रुपमा लैजान नहुने बताउँदै प्रेसलाई सङ्कुचित बनाउने गरी संहिता आएको हो भने त्यसलाई संशोधन गरेर जान संसद्मा आवाज उठाउन आफू तयार रहेको बताए । रासस

Publish on: