नेपाल एग्रो माइक्रोफाइनान्सले रक्तदान कार्यक्रम गरी मनायो बाषिकोत्सव « Eglish Khabarhub

नेपाल एग्रो माइक्रोफाइनान्सले रक्तदान कार्यक्रम गरी मनायो बाषिकोत्सव



काठमाण्डौ । नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था दोश्रो वर्षमा प्रवेश गरेको छ । संस्थाले वार्षिक उत्सवको उपलक्ष्मा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रमको उद्घाटन नेपाल सरकार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरेका थिए । रक्तदान कार्यक्रममा मन्त्री विकास लम्साल सहित १६ जनाले रक्तदान गरे ।

कार्यक्रममा बोल्दै मन्त्री बिकास लम्सालले नेपाल एग्रो माइक्रोफाइनान्सले देशको वर्तमान आवश्यकता अनुरुप कृषि जन्य उत्पादन बढाउन सहयोग पुग्ने गरी परीकल्पना तय गरेको र गण्डकी प्रदेशमा ससाना तर धेरै संख्यामा कृषि जन्य उद्योगहरु स्थापना गरिने र २०२० को लक्ष्य बमोजिम आउने पर्यटकहरुको लागि आवश्यक बास स्थानको व्यवस्था गर्न पर्यटन क्षेत्रहरुमा होमस्टेहरु संचालन गरिने भएकोले नेपाल एग्रो माइक्रोफाइनान्स जस्ता वित्तीय संस्थाहरुको महत्व अझै बढ्ने बताए ।

धेरै भन्दा धेरै कृषकको घरदैलोमा पुगेर एक दुईवटा गाई पाल्नेलाई पाँच सातवटा गाइ पाल्न, दुई चारवटा बाख्रा पाल्नेलाई वीस पच्चीस वटा बाख्रा पाल्न, एउटा गरामा तरकारी खेती गर्नेलाई चार पाँचवटा गह्रामा तरकारी खेती गर्न हौसला सहित कर्जा तथा तालिम प्रदान गर्ने कार्य गर्न उनको सुझाव थियो ।

देशको कृषिको उत्पादकत्व बढाउन सहयोगी हुने परीकल्पना राखेको यस माइक्रोफाइनान्सले सोहि बमोजिम आफ्नो कार्य अघि बढाउन लागेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए ।

दुई वर्षको अवधिमा कास्की, पर्वत, वाग्लुङ, गुल्मी, पाल्पा, सल्यान, प्युठान, रोल्पा, तनहुँ र लम्जुङ, गरी १० जिल्लामा २६ शाखा मार्फत करीव १५ हजार परिवारलाई कर्जा, वचत, विमा तथा रेमिटान्स सेवा प्रदान गर्ने क्रममा ३५ करोड भन्दा बढि लगानीमा रहने गरी कर्जा प्रवाह गरेको, करीव१२ करोड निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत लम्सालले बताए ।

नेपाल एग्रो माइक्रोफाइनान्सका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष रमेश कुमार कर्माचार्यले पछिल्लो करीव दुई वर्षदेखि कर्जाको ब्याजमा भएको बृद्घिले हरेक क्षेत्रका ब्यवसायीहरुलाई लगानीको लागि असहज परिस्थिति भइरहेकोले सम्वन्धित निकायको ध्यानाकर्षण गराए ।

नेपाल एग्रोले सर्वसाधारणको लागि छुट्याएको ३० प्रतिशत पुँजी विक्री गर्ने प्रकृया शुरु भइसकेकोले निकट भविश्यमा हालको पुँजी ३ करोड ३६ लाख बढेर ४ करोड ८० लाख पुग्ने सभाध्यक्ष कर्माचार्यले बताए ।

Publish on: