काठमाडौं । सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य हुनेमा दोस्रोमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयर मूल्यमा दुईदिनमा ठूलो उतारचढाव देखिएको छ ।
राष्ट्रिय बीमा कम्पनीले एकैपटक आर्थिक वर्ष २०६३/६४, २०६४/६५, २०६५/६६, २०६६/६७ र २०६७/६८ र २०६८/६९ को वित्तीय विवरण पास गरेर १२० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।
तर,नियामक बीमा समितिले २०६८/६९ को वित्तीय विवरणमा कैफियत देखाएर पास गर्नअ अस्विकृत गरेपछि बीमा कम्पनीले १२० प्रतिशत बोनस सेयर नदिने निर्णय गरेको थियो ।
बीमा समितिले ५ वटा आर्थिक वर्षको वित्तीय विवरण स्विकृत गरेपछि सो अनुसार असोज १९ गते कम्पनीले साधारणसभा बोलाएको छ ।
सो साधारणसभामा बोनस सेयर प्रस्ताव छैन । कम्पनीले आर्थिक वर्ष २०६८/६९ सहित २०६९/७०, २०७०/७१, २०७१/७२, २०७२/७३ र २०७३/७४ वित्तीय लेखापरिक्षण गराएर वित्तीय विवरण पास भएपछि बोनस सेयर दिने निर्णय गरेको छ ।
१२० प्रतिशत बोनस सेयर नपाउने भएपछि यसको सेयर मूल्य मंगलबार प्रतिकित्ता ७६८ रुपैयाँले झर्यो ।
मंगलबार बोनस सेयर नदिने मात्र बुझेका लगानीकर्ताले कारोबार बन्द भएपछि मात्र बोनस सेयरको वास्तविकता बुझे । बुधबार भने राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१८ रुपैयाँले बढेको छ ।
‘केही सिमित व्यक्तिले राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्यमा चलखेल गरेको देखिएको छ,बोनस सेयर नपाउने हल्ला चलाएर कम्पनीको मूल्य घटाउने काम भएको देखियो,’एक सेयर ब्रोक्ररले भने ।
राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।
कम्पनीले असोज १९ गते हुने साधारणसभामा बोनस सेयर नदिएपनि पुस मसान्तभित्रमा अर्को साधारणसभा गर्ने तयारी गरेको छ । चुक्ता पुँजी बढाउनको लागि कमाएको नाफाबाट बोनस सेयरदिनुपर्ने हुन्छ । मात्र कम्पनीले दिने बोनस सेयर ढिला भएको हो ।
पछिल्लो तीनदिनको सेयर मूल्यलाई विश्लेषण गर्दा घटाएर बेच्न खोजेको प्रष्ट देखिने गरेर चलखेल भएको देखिन्छ ।
सोमबार राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० हजार ५७० थियो । बोनसको नआउने हल्ला भएपछि यसको सेयर मूल्य घटेर ९ हजार ८०२ रुपैयाँ मंगलबारको दिन पुग्यो । अर्थात मंगलबारको दिन सेयर बिक्री गर्नेले गुमाएका छन् ।
सेयर बजारमा युनिलिभरपछि सबैभन्दा बढी सेयर मूल्य हुने कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेड हो । सेयर बजारमा बजार पुँजीकरण हुने ठूला १० कम्पनीमा यो पनि पर्छ । यसको बजार पुँजीकरण २७ अर्ब २५ करोड रुपैयाँ छ ।
SHARE YOUR THOUGHTS