होटलमा एग्रेसिभ बन्दै शशिकान्तः अर्ब लगानीमा कमलादीमा नेपालकै नौलो तारे होटल « Eglish Khabarhub

होटलमा एग्रेसिभ बन्दै शशिकान्तः अर्ब लगानीमा कमलादीमा नेपालकै नौलो तारे होटल



सन फ्रान्सिस्कोस्थित म्यारियट मक्सी होटल । नेपालमा पनि अग्रवालले म्यारियटको मक्सी ब्राण्डको होटल निर्माण गर्न लागेका हुन् ।

काठमाडौं । उद्योगी शशिकान्त अग्रवालले होटलमा ‘एग्रेसिभ’ तरिकाले लगानी बढाएका छन् । पछिल्ला साढे ३ वर्षमा २ वटा तारे होटल बनाइसकेका उनले फेरि अर्को तारे होटल बनाउन लागेका छन् ।

कमलादीमा रहेको आफ्नै २ रोपनी जमिनमा १ अर्ब रुपैयाँ लगानी गरेर होटल निर्माण गर्न लागेका हुन् । जग्गासहित जोड्दा होटलको लागत १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी हुनेछ ।

‘नक्सा पासलगायतका सबै काम भइसकेका छन्, तिहार सकिएलगत्तै निर्माणकार्य शुरु हुन्छ, ३ वर्षभित्र सञ्चालनमा आउँछ,’ अग्रवालले क्लिकमाण्डूसँग भने ।

पछाडि झोला भिरेर सबैकुरा झोलामै बोकेर हिँड्ने धनाड्य पर्यटक अर्थात् रिच ब्याग प्याकर्सलाई लक्षित गरेर होटल बनाउन लागिएको उनी बताउँछन् ।

अग्रवालका अनुसार १ सय ५ वटा बेडरुम भएको यो होटल नेपालकै नौलो होटल हुनेछ । अन्तर्राष्ट्रिय ब्राण्ड म्यारियट होटलको चेनका रुपमा खोल्न लागिएको ४ तारे सरहको उक्त होटलको नाम ‘म्यारियट मोक्सी’ रहनेछ ।

‘यो होटल फन होटल हो, जहाँ एक्लै गएर पनि भरपूर रमाइलो गर्न सकिन्छ,’ अग्रवालले भने, ‘जहाँ विभिन्न ब्याण्डका म्यूजिकको र रेडिमेड पार्टीको व्यवस्था हुन्छ ।’

पछाडि झोला भिरेर आउने पर्यटकहरुलाई ब्याग प्याकर्स भनिन्छ । पछाडि झोला भिरेर सबैकुरा झोलामै बोकेर हिँड्ने धनाड्य पर्यटक अर्थात् रिच ब्याग प्याकर्सलाई लक्षित गरेर होटल बनाउन लागिएको उनी बताउँछन् ।

अग्रवालको १ अर्ब २० करोड रुपैयाँ लगानीमा डेढ वर्षदेखि ठमेलमा ४ तारे सरह अन्तर्राष्ट्रिय चेन होटल म्यारियट सञ्चालनमा भइरहेको छ । नक्सालमा ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा म्यारियटकै ५ तारे होटल निर्माणधीन अवस्थामा छ । जुन अबको ३ महिनाभित्र निर्माण सम्पन्न हुन्छ ।

होटलमा किन एग्रेसिभली लगानी बढाइरहनु भएकोछ ? अग्रवाल भन्छन्,- नेपाल यस्तो देश हो जहाँ पर्यटकीय संभावना अत्यन्त धेरै छ ।’

पर्यटक आकर्षित गर्नका लागि नेपालमा समुद्रबाहेक सबै कुरा भएको उनको निष्कर्श छ ।

अग्रवाल भन्छन्, ‘हामी १० लाख पर्यटक भित्र्याउने कुरा गरिरहेका छौं, मलाई लाग्छ सरकारले अलिकति पूर्वाधार बनाइदिने हो भने हामी १ करोड पर्यटक भित्र्याउन सक्छौं ।’

‘हामीसँग हिमाल छ, धर्म/संस्कृति छ, वातावरण छ, ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, अन्य एडभेञ्चर टुरिजममा उत्तिकै अवसर छ,’ अग्रवाल भन्छन्, ‘हामी १० लाख पर्यटक भित्र्याउने कुरा गरिरहेका छौं, मलाई लाग्छ सरकारले अलिकति पूर्वाधार बनाइदिने हो भने हामी १ करोड पर्यटक भित्र्याउन सक्छौं ।’

कोर इन्ड्रस्टीमा मात्रै लगानी गरिरहेका अग्रवालले पछिल्लो समय सेवा क्षेमा पनि लगानी विस्तार गरिरहेका हुन् । उनको करिब आधा दर्जन बैंक तथा वित्तीय संस्थाहरुमा ठूलो मात्रामा प्रमोटर सेयर छ ।

लगानीका हिसाबले होटलमा प्रतिफल नभए पनि भोलिका दिनमा संभावना भने निकै ठूलो रहेको उनको बुझाइ छ ।

‘होटलमा गरिएको लगानीबाट खासै प्रतिफल छैन, ५ वर्षसम्म त बैंकको ब्याज तिर्दै ठिक्क हुन्छ, त्यसपछि भने प्रचारप्रसार गर्न सक्दा राम्रै हुन्छ,’ उनले सुनाए ।

तर, होटलमा सम्पत्तिको मूल्य बढ्ने भएकाले र मेरो होटल पनि छ भन्दा छुट्टै आनन्द यो क्षेत्र ग्ल्यामर भएको उनको बुझाइ छ ।

‘हामीले ठमेलमा १ अर्ब २० करोड लगानी गरेर होटल बनाएका थियौं, अहिले त्यसको मूल्यांकन २ अर्ब रुपैयाँ हुन्छ,’ उनले भने, ‘हामी लगानीकर्ताहरु यसैमा पनि रमाइरहेका हुन्छौं । किनभने उद्योगमा यस्तो हुँदैन ।’

साढे ३ वर्षअघि मात्रै लगानीकर्ताका रुपमा होटलमा प्रवेश गरेका अग्रवालसँग कमलादीमा बनाउने म्यारियट मोक्सी सञ्चालनमा आइसकेपछि बेड संख्या खसाढे ३ सय पुग्छ ।

Publish on: