काठमाडौं । सेयरको अनलाइन ट्रेडिङ सञ्चालनका लागि आवश्यक पर्ने डाटा सेन्टरमा लफडा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुरुमा क्लाउड फेयर डाटा सिस्टममा ब्रोकर आफैंले राख्नुपर्ने निर्देशन दिएको थियो ।
तर, त्यस्तो निर्देशन दिएको अढाइ महिनापछि पछि हट्दै नेप्सेले सेन्ट्रलाइज्ड डाटा सिस्टमबाट अनलाइन कारोबार शुरु गर्न ब्रोकरहरुलाई निर्देशन दिएको छ ।
नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले क्लाउड फेयर डाटा सिस्टमको काम गर्न जिम्मा दिएको कम्पनीले काम गर्न नसकेका कारण सेन्ट्रलाइज्ड सिस्टममा जानु परेको बताए ।
यसै विषयमा जानकारी दिने उद्देश्यले नेप्सेका महाप्रबन्धक साउदले ३ बजे सबै ब्रोकरहरुलाई बोलाएर आफ्नो प्रस्तुति दिँदैछन् । जहाँ सेन्ट्रलाइज्ड डाटा सिस्टमको डेमो देखाइने छ ।
‘ब्रोकरहरुको सुझाब लिएर आगामी केहीदिन भित्रै यो सिस्टमबाट अनलाइन ट्रेडिङ शुरु गर्छौं,’ साउदले क्लिककाण्डूसँग भने ।
गत असार १५ गते ब्रोकरहरुलाई परिपत्र गर्दै नेप्सेले डाटा सेन्टर सञ्चालनका लागि ब्रोकर आफैंले क्लाउड फेयर राख्न भनेको थियो ।
नेप्सेको निर्देशन अनुसार ब्रोकरहरुले एसेस वर्ड र सिल्भर लाइनिङसँग क्लाउड फेयरमा डाटा राख्ने काम शुरु गरिसकेका थिए ।
तर, ब्रोकरहरुले अनलाइन ट्रेडिङ भएपछि मात्रै पैसा तिर्ने बताएका थिए ।
नेप्सेले डाटा सेन्टरको सिस्टम नै परिवर्तन गरिदिएको छ । एसेस वर्डका किशोर पन्तका अनुसार अब आफूहरुले काम गरेको पैसा ब्रोकरसँग दाबी गर्ने बताए ।
‘नेप्सेले हामीलाई सहयोग त गरेन, गरेन, आफूले काम पनि गर्न सकेन । हामीले नेप्सेले सोचेको भन्दा धेरै अघि काम गर्यौ तर अन्तिममा आएर धोका पनि दियो,’ पन्तले भने, ‘वास्तवमा भन्दा नेप्सेले अनलाइन ट्रेडिङ गर्नै नचाहेको देखियो ।’
नेप्से, वाइको र ब्रोकरबीच भएको सम्झौता तोड्दै नेप्सेले सेन्ट्रलाइज्ड सिस्टम कार्यान्वयन गर्न लागेको हो । त्रिपक्षिय सम्झौतामा नेप्सेले स्पेसिफिकेशन दिने, वाइकोले काम गर्ने र लागेको खर्च ब्रोकरले ब्यहोर्ने थियो ।
SHARE YOUR THOUGHTS