बीमा कम्पनीले सेयर बजारमा लगानी गरेको भन्दै अर्थमन्त्री खतिवडाको असन्तुष्टि « Eglish Khabarhub

बीमा कम्पनीले सेयर बजारमा लगानी गरेको भन्दै अर्थमन्त्री खतिवडाको असन्तुष्टि



काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बीमा कम्पनीहरुले सेयर बजारमा लगानी गरेको भन्दै असन्तुष्टि जनाएका छन् । विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१औं सम्मेलनलाई मंगलबार सम्वोधन गर्ने क्रममा अर्थमन्त्रीले यस्तो असन्तुष्टि व्यक्ति गरेका हुन् ।

नाफा कमाइन्छ भनेर सेयर बजारमा लगानी गर्दा जोखिमको ख्याल पनि गर्नुपर्ने उल्लेख गर्दै खतिवडाले सुझाब दिए– ‘बीमा कम्पनीहरुले बढी नाफा कमाउने नाममा सेयरमा लगानी गरेर गल्ती गरेका छन्, लगानीमा विविधिकरण गर्न र जोखिम हस्तान्तरण हुने गरी अघि बढ्नुहोस् । ’

मन्त्री खतिवडाले घरमै बसेर बीमा कम्पनीलाई प्रिमियम र दावी भुत्तानी लिन सक्ने ब्यवस्था मिलाउन बीमा क्षेत्रलाई सुझाब दिए ।

‘बीमा क्षेत्रले पनि प्रविधिको उच्चतम प्रयोग गरेर ग्राहकले घरैमा बसेर बीमा प्रिमियम तिर्ने र दावी भुत्तानीको व्यवस्था गर्नुपर्छ’ उनले भने ।

अब बीमा कम्पनीहरु साइबर जोखिमको बीमा गर्न अग्रसर हुनुपर्ने अर्थमन्त्रीको भनाइ थियो । ‘साइबर जोखिममा यतिठूलो अबसर छ, बीमा कम्पनीहरु त्यता पनि जानुपर्छ,’ उनले भने ।

अहिले निर्जीबन बीमा कम्पनीहरुले ५० प्रतिशत गाडीको बीमा गरेको उल्लेख गर्दै अन्य क्षेत्रमा पनि जान निर्देशन दिए । जलबायु परिवर्तन, डिजास्टर रिस्क म्यानेजमेन्ट बीमा क्षेत्रको चुनौतिको रुपमा अएको उनको भनाइ थियो ।

सरकारले लघुबीमालाई प्रभावकारी रुपमा अघि बढाउन लागेको जानकारी दिँदै मन्त्री खतिवडाले भने– ‘वृद्धको र सिमान्तकृत जनताको स्वास्थ्य बीमा तयार भएर बस्नुहोस् ।’

मंगलबारबाट शुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा क्षेत्रका नियामक निकायहरुको सहभागिता रहनेछ बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले जानकारी दिए ।

सम्मेलनमा भाग लिन २० देशबाट १५० भन्दा बढि सहभागीहरु काठमाडौं आईपुगेका छन् ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाइले साइबर क्राइमको बीमा पोलिसी ल्याउन लागिएको जानकारी दिँदै सबै क्षेत्रलाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

Publish on: