काठमाण्डौका सीडीओ भन्छन्- ट्याक्सीले बढी भाडा लिए प्रशासनमा खबर गर्नुस् « Eglish Khabarhub

काठमाण्डौका सीडीओ भन्छन्- ट्याक्सीले बढी भाडा लिए प्रशासनमा खबर गर्नुस्



काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सीडीओ) रामप्रसाद आचार्यले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गरेर ट्याक्सीहरुमा कडा अनुगमन गर्न लागिएको बताएका छन् ।

उनले ट्याक्सीहरुले अनुगमन बिलिङ मिटर राखेपनि चाडवाडमा बढी पैसा कमाउने लक्ष्यले मिटर बिना गुडाउन सक्ने कुरालाई ध्यानमा राख्दै कडा अनुगमनको व्यवस्था गरिएको बताए ।

काठमाडौंका ९० प्रतिशत ट्याक्सीहरुले बिलिङ मिटर जडान गरेको बताउँदै उनले यात्रु ठगिने कामको नियन्त्रण गर्दै सरकारले ट्याक्सीमा कडा चेकिङको व्यवस्था मिलाएको बताए ।

‘दशैमा प्रायः ट्याक्सी चालकहरुले मिटर भएपनि मिटर चालु नगरी सम्झौतामा यात्रुलाई ठग्ने काम गर्ने क्रियाकलाप पहिलैदेखि चलिआएकोले यसमा प्रमुख ध्यान पुर्याएका छौँ, हामीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सिभिल ड्रेसमा समेत प्रहरी परिचालन गरेर काम गरिरहेका छौँ,’ आचार्यले भने ।

प्रहरी र गुणस्तर तथा नापतौल विभागसँग मिलेर ट्याक्सी भाडा अनुगमन गर्न लागेको उनले जानकारी दिए ।

यस्तो छ अहिलेको ट्याक्सी भाडा दर
हालैमात्र यातायात विभागले ट्याक्सीको भाडा समायोजन गरेको छ । यातायात व्यवस्थापन विभागका प्रवक्तका गोकर्ण प्रसाध उपाध्यायका अनुसार ट्याक्सीहरुको भाडा प्रतिमिटर ३९ रुपैयाँ तोकिएको छ । उपत्यकामा मात्र ९ हजार बढी ट्याक्सीहरु सञ्चालनमा रहेका छन् ।

यस्तै काठमाडौं ट्राफिक प्रहरीका प्रवक्ता राजकुमार लम्सालका अनुसार यो दशैँमा ट्याक्सी भाडा अनुगमनका लागि १ हजार ४ सय बढी ट्राफिक प्रहरीहरु परिचालन गराइदैँछ ।

उनले ट्याक्सी चालकले यात्रुलाई तोकिएको भन्दा बढी भाडा लिन खोजे अथवा विभिन्न बाहानामा नाइनास्ती गरे १ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्मको कारबाही गरिने बताए ।

‘ट्याक्सी चालकले यात्रु कतै जान खोज्दा मिटरमा गएनन् भने मात्र हैन, कति तिर्ने ?, म त्यहाँ जान्न, लगायतका नाइनास्ती गरे तुरुन्तै १०३ मा खबर गर्नुहोस् हामी १ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्मको कारबाही गर्छौँ,’ लम्सालले भने ।

उनले मनोमानी रुपमा ट्याक्सी भाडा असुल्नेको ट्याक्सी जफत गरी नेपाल गुणस्तर तथा नापतौल विभागमा पठाइने र १ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्मको जरिवाना गरिने बताए ।

यसका साथै सरकारले चाँडै गाडीभाडा मोबाइल एप्स ल्याउदैछ । उक्त एप मार्फत ट्याक्सी बुक गर्नुका साथै ट्याक्सी कहाँ छन् र कहाँदेखि कहाँ पुग्दा कति भाडा लाग्छ सबै अनलाइनबाटै हेर्न सकिने छ ।

Publish on: