काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये राम्रो मानिदै आएको मुक्तिनाथ विकास बैंकको सेयर मूल्य पछिल्लो समय घट्दै गएको छ ।
घट्दो क्रममा रहेको मुक्तिनाथको सेयर मूल्य गत बर्ष असोज १७ गते दोस्रो बजारमा प्रतिकित्ता ६ सय १२ रुपैयाँ थियो । अहिले सो बैंकको सेयर मूल्य ४ सय रुपैयाँ कायम छ । एक वर्ष अघिको तुलनामा मुक्तिनाथको सेयर मूल्य २ सय १२ रुपैयाँले घटेको हो ।
सोही बैंकको सेयर मूल्य गत बर्ष कात्तिक ५ गते दोस्रो बजारमा ६ सय ३५ रुपैयाँ पुगेको थियो । गत बर्षकै पुस १६ गते ४ सय ८ रुपैयाँमा झर्न पुग्यो ।
हाल बैंकको बजारपूँजीकरण १० अर्ब ४९ करोड ६६ लाख ४० हजार ९ सय ६० रुपैयाँ रहेको छ । यस्तै, २ करोड ५९ लाख १७ हजार ६ सय ३२ कित्ता सेयर नेप्सेमा सुचीकृत छ ।
सो बैंकको सेयर मूल्य किन घट्दै गएको हो त ? यस सम्बन्धमा सेयर बजारका जानकारहरु यसवर्ष लगानीकर्तालाई दिने लाभांश कम गरेकाले सेयर मूल्य घट्दै गएको बताउँछन् ।
लगानीकर्ताले अन्य विकास बैंकको सेयर मुक्तिनाथको भन्दा कम मूल्यमा खरिद गर्न सक्छन्, त्यसलेपनि मुक्तिनाथप्रतिको आकर्षण घटाउन मद्दत गरेको पाइन्छ ।
कालिका सेक्यूरिटिजमा भेटिएका एक लगानीकर्ता निर्मल न्यौपानले मुक्तिनाथ विकास बैंकले पहिलेको भन्दा यसपालि बोनश घटाएको कारणले त्यसको असर सेयर मूल्यमा परेको हुन सक्ने बताए । यस्तै, आर्यतारा सेक्यूरिटिजमा भेटिएका लगानीकर्ता अमृत बञ्जाडेले नेप्सेको सूचक नै घट्दो क्रममा रहेकाले त्यसको असर मुक्तिनाथ विकास बैंकमा समेत परेको बताए ।
यसैगरी एशियन सेक्यूरिटिजमा भेटिएका अर्का लगानीकर्ता बालेश्वर खड्काले छोटो समयमा नाफा बुकिङ गर्न लगानीकर्ता लागि परेकाले मुक्तिनाथको सेयर मूल्य घट्दो क्रममा रहेको बताए ।
अनलाईन सेक्यूरिटिजमा भेटिएका लगानीकर्ता कृष्ण रेग्मीले लगानीकर्ताले नाफा हेर्न थालेकाले सेयर मूल्य घटेको हो । बैंकका वित्तीय सुचकहरु भने राम्रा छन् ।
SHARE YOUR THOUGHTS