काठमाडौं । योग गुरु रामदेव बाबा र आचार्य वालकृष्णको संस्था पतन्जीले स्याङ्जाको वालिङ नगरपालिकामा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।
नेपाल भ्रमणमा आएका आचार्य वालकृष्णले वालिङमा सो रकम बराबरको लगानी आयुर्वेद क्षेत्र गर्ने तय गरेका हुन् । स्याङ्जाको वालिङमै आएर उनले यस्तो तय भएको जानकारी दिएका वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँडले बताए ।
‘आयार्च वालकृष्णजी यही अस्ति यही आउनु भएको थियो, उहाँसँग हाम्रो कुरा हुदा पतन्जलीले करिब १० अर्ब रुपैयाँ जतिको लगानी गर्ने तय भएको उहाँले हामीलाई बताउनु भएको छ,’ मेयर खाँडले क्लिकमाण्डूसँग भने ।
मेयर खाँडलाई आचार्य वालकृष्णले तत्काल काम सुरु हुने पनि बताएका छन् । पतन्जलीले वालिङमा ५ वटा परियोजना तत्कालै सुरु गर्ने बताएको छ ।
पतन्जलीले आयुर्वेद रिसर्च सेन्टर, आयुर्वेद कलेज, आयुर्वेद अस्पताल, लर्निङ कन्फरेन्स हल र जडिबुटी नर्सरी तत्कालै राख्ने बताएको मेयर खाँडले जानकारी दिए ।
यसको लागि नगरपालिकाले ३५ सय रोपनी जग्गा पतन्जलीलाई उपलब्ध गराएको छ । अन्य सुविधा पतन्जलीलाई नदिएको खाँडले बताए ।
‘आचार्य वालकृष्ण यही वालिङमा जन्मनु भएको ब्यक्तित्व हो, वालिङसँग उहाँको भावनात्मक सम्बन्ध पनि छ, त्यसैले यहाँ लगानी गर्न आचार्य वालकृष्णजी र पतन्जली तयार भएका हुन्,’ खाँडले भने ।
पतन्जीले तत्काल सुरु गर्ने भनेका परियोजना संचालनको पूर्वाधार डिजाइको काम आगामी माघ महिनासम्ममा सुरु भइहाल्ने मेयर खाँडको भनाइ छ ।
पतन्जलीले अहिले संचालन गर्न लागेका यी परियोजनामा करिब १५ सय ब्यक्तिले प्रत्येक्ष रोजगारी पाउने बताइएको छ ।
SHARE YOUR THOUGHTS