काठमाण्डौ । दशैं मान्न काठमाडौं उपत्यकाबाट घर जाने यात्रुसँग बढी भाडा असुल्ने बिरुद्ध तुरुन्त उजुरी गर्न सरकारले आग्रह गरेको छ। सरकारले गाडीभाडामा १० प्रतिशत वृद्धि गरेपछि यसैको बहाना बनाएर बिचौलियाहरूले यात्रु ठगिरहेको सरकारको निश्कर्ष छ ।
कसैले बढी भाडा असुलेको पाइए तुरुन्त नजिकैका ट्राफिक प्रहरी वा यात्रु सहायता कक्षमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए। उजुरी आएमा यात्रु ठग्नेलाई तुरुन्त कारबाही गरिने प्रवक्ता उपाध्यायले बताए।
यता, कलंकीमा बिचौलियाहरूबाट यात्रु बढी ठगिने गरेकाले कलंकीका सबै टिकट काउन्टर हटाउने तयारी सरकारले गरेको छ। ट्राफिक प्रहरीसँगको सहकार्यमा कलंकीका काउन्टर हटाउने तयारी गरिएको प्रवक्ता उपाध्यायले बताए।
उपत्यकाबाट विभिन्न जिल्लामा जाने गाडीलाई अब नयाँ बसपार्कबाट मात्रै छुट्न दिइने यातायात व्यवस्था विभागले जनाएको छ। यस्तै कोटेश्वरमा रहेको काउन्टरबाट पनि यात्रु ठगिएको गुनासो आएकाले अनुगमन थालिएको विभागले जनाएको छ।
यस्तै आजबाट साझा यातायतले पनि दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ।
SHARE YOUR THOUGHTS