लुकुम खोला साना जलविद्युत् आयोजना सञ्चालनमा « Eglish Khabarhub

लुकुम खोला साना जलविद्युत् आयोजना सञ्चालनमा



रुकुम । जिल्लाकै सबैभन्दा बढी क्षमता भएको भुमे गाउँपालिका–६ सीसाघारीमा निर्माण भएको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाले औपचारिक रूपमा विद्युत उत्पादन गर्न थालेको छ ।

उक्त आयोजना निर्माणमा करिव १० करोड सहयोग उपलब्ध गराउनुभएका हङ्कङ निवासी सरमाइकल कादुरीले विहिबार उद्घाटन गरेका थिए । तीन वटा हेलिकोप्टरमा कादुरीको परिवार र एउटा हेलिकोप्टरमा डकुमेन्ट्री बनाउने टोली आइपुगेको थियो ।

ठाउँ अभावका कारण हेलिकोप्टर गहुँबारीमा राखिएको थियो । एकैसाथ चार हेलिकोप्टर गाउँमा पुगेपछि हेर्नेको घुइँचो पनि बढेको थियो ।

एकसय पैतिस किलोवाट क्षमताको विद्युत् आयोजनाका लागि कादुरी एग्रिकल्चर एड एशोसिएसन ब्रिटिस गोर्खाज नेपाल संस्थामार्फत कादुरीको परिवारले नौ करोड ७५ लाख ६ हजार ७७९का साथै प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

१० करोड ३२ लाख ५६ हजार ७७९ मा निर्माण भएको उक्त आयोजनामा नगद र श्रमदान गरी स्थानीय उपभोक्ताले ३५ लाख बराबरको लगानी गरेका थिए ।

विसं २०७३ कात्तिक २ देखि निर्माण शुरु भई गत साउनमा सम्पन्न भएको सो आयोजनाबाट गाउँपालिकाका काडाँ–४, मोराबाङ–३ र महत–६ वडाका ५९० घरधुरी लाभान्वित छन् ।

Publish on: