चितवन । अन्तर्राष्ट्रिय कुखुरापालन सङ्गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको छ । यही कात्तिक ११ देखि १३ गतेसम्म कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा सो सङ्गोष्ठी हुँदैछ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय रामपुरको आयोजना तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका, खाद्य तथा कृषि सङ्गठन, हेफर इन्टरनेशनल र विश्वविद्यालय अनुदान आयोगको सहआयोजनामा सो कार्यक्रम हुन लागेको हो ।
सम्मेलनमा १० देशका तीन सय वैज्ञानिक सहभागी हुनेछन् । मूल आयोजक समितिका अध्यक्ष एवं कृषि विश्वविद्यालयका डिन प्रा डा शारदा थपलियाका अनुसार गोष्ठीमा कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामीण कुखुरापालन जस्ता विधामा ११५ वटा वैज्ञानिक र अनुसन्धानमूलक कार्यपत्र पेश हुनेछन् । कार्यपत्र समावेश गरी पुस्तक प्रकाशित गरिएको थपलियाले बताए ।
सो अवसरमा नेपाल, भारत, जापान, अस्ट्रेलिया, जर्मनी, बङ्गलादेश, अमेरिका, भूटान, इजिप्ट र कम्बोडियाका वैज्ञानिक सहभागी हुनेछन् । विभिन्न विश्वविद्यालय तथा कुखुरापालन क्षेत्रमा अनुसन्धान गरिरहेका विज्ञ, नेपालका कुखुरापालन उद्योगी, व्यावसायिक किसानसहित सो क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।
‘खाद्य स्वच्छता र सुरक्षाका लागि कुखुरापालनको माग परिपूर्ति’ भन्ने मूल नाराका साथ सङ्गोष्ठी हुँदैछ ।
विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले नेपाल कुखुरापालन उत्पादनमा आत्मनिर्भर रहेको भन्दै यो यो कार्यक्रमले उत्पादन वृद्धि र व्यावसायिकीकरण गर्नमा योगदान दिने विश्वास व्यक्त गरे ।
देशको कूल उत्पादनको आधाभन्दा बढी कुखुरापालनजन्य उत्पादन हुने चितवनमा कार्यक्रम हुनुले यहाँका कृषकसमेत लाभान्वित हुने बताइएको छ ।
नेपालको कूल ग्रार्हस्थ्य उत्पादनको करीब चार र कूल कृषि गार्हस्थ्य उत्पादनको करीब आठ प्रतिशत हिस्सा कुखुरापालन क्षेत्रले ओगटेको छ । कुखुरापालन क्षेत्रमा करीब एक लाख ५० हजार प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् ।
पशु सेवा विभागको सन् २०१७ को तथ्याङ्कअनुसार नेपालमा करीब सात करोड कुखुरा रहेको छ । देशको कूल मासु उत्पादनको करीब १७.२ प्रतिशत हिस्सा कुखुरापालन क्षेत्रले ओगटेको छ । रासस
SHARE YOUR THOUGHTS