काठमाडौं । घरायसी तथा मृत्यूपछिको सेयरको नामसारीको जिम्मा केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले पाएको छ । धितोपत्र बोर्डले निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावलीको संशोधन गर्दै यस्तो ब्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्था, धितोपत्र दलाल, मर्चेन्ट वैंकर तथा तिनका शाखाहरुमार्फत देशै भरिवाट डीपी सेवा प्रदान भइरहेकोले नयाँ व्यवस्थावाट सूचिकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया अत्यन्त सरल, सहज तथा व्यापक भई लगानीकर्ताहरु लाभान्वित हुने बोर्डको भनाइ छ ।
यसअघि सूचिकृत सेयरको कारोवार, राफसाफ तथा नामसारी लगायतको तीन वटै कार्यहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गर्ने गरेको थियो । सोही वमोजिम सूचिकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी कार्य समेत नेप्सेको सिफारिशमा सम्बन्धित सूचिकृत कम्पनीबाट हुने गरेको थियो ।
सीडीएससीले सेयरको राफसाफ तथा नामसारी कार्य स्वचालित प्रणालीमार्फत गरिरहेको एवं धितोपत्रको अभौतिकिरण भए पश्चात घरायसी तथा मृत्यु नामसारी सम्बन्धी कार्य नेप्सेले गर्दा धेरै समय लाग्ने, अनावश्यक झण्झट वेहोर्नु पर्ने लगायतका विविध कठिनाई शेयरधनीहरले ब्यहोर्नु परेको भन्दै बोर्डमा गुनासो प्राप्त भएकोले नयाँ ब्यवस्था गरिएको बोर्डको भनाइ छ ।
सीडीएससीको स्थापनापछि सेयरको राफसाफ तथा नामसारी सीडीएससीले नै गनरेपनि घरायसी तथा मृत्यु नामसारी कार्य नेप्सेले नै गर्दै आईरहेको थियो ।
यसरी साविकमा भौतिक शेयरको घरायसी तथा मृत्यु नामसारी नेप्सेले गर्दै आएकोमा धितोपत्रको अभौतिकिरण पश्चात यस सम्वन्धमा उत्पन्न अन्यौलता, कठिनाई एवम् गुनासो समेतलाई सम्बोधन गर्न आवश्यक देखिएकोले बोर्डले नेप्से र सीडीएससीलाई सो सम्बन्धमा आवश्यक व्यवस्था गर्न निर्देशन दिएको थियो ।
सोही बमोजिम सीडीएससीले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा संशोधन प्रस्ताव गरी स्वीकृतिका लागि बोर्डमा पेश गरेको थियो । उक्त प्रस्तावित संशोधनमा बोर्डबाट पटक पटक पुनरावलोकन गरी आवश्यक सुधार गरि अन्तिम रुप दिईएको विनियमावलीको तेस्रो संशोधन प्रस्तावलाई वोर्डवाट हालसालै स्वीकृत गरिएको छ ।
अब घरायसी तथा मृत्यु नामसारी प्रक्रिया यस्तो हुनेछ
भौतिक, अभौतिक धितोपत्रको घरायसी नामसारी गर्न र मृत्यु पश्चातको धितोपत्र नामसारी गर्न सम्बन्धित निवेदकले विनियमावलीमा तोकिए बमोजिमको फारम भरी निक्षेप सदस्यकोमा सम्वन्धित कागजात सहित निवेदन दिनुपर्नेछ । यस्तो निवेदन प्राप्त भए पश्चात निक्षेप सदस्यले त्यस्तो निवेदन तथा संलग्न कागजातहरु रुजु गरी सिडिएससीको प्रणालीमा प्रविष्टि गर्नु पर्नेछ ।
निक्षेप सदस्यले प्रणालीमा प्रविष्टी गरे पश्चात प्रणालीबाट उपलब्ध हुने विवरण सहित निवेदन तथा संलग्न सम्पूर्ण कागजात आवश्यक कारवाहीका लागि सीडीएससीमा पेश गर्नु पर्नेछ । निक्षेप सदस्यबाट प्राप्त हुन आएको निवेदन तथा कागजातको आवश्यक जाँचबुझ गरी उपयुक्त देखिएमा सीडीएससीले निवेदन बमोजिम धितोपत्रको हस्तान्तरण यथाशीघ्र गरि दिनुपर्नेछ ।
बोर्डका अनुसार धितोपत्र धनीको मृत्यु पश्चात् हकवालामा सर्ने धितोपत्रको हस्तान्तरणका लागि अन्य कसैको दाबी भए त्यस्तो दाबी गर्न आउनका लागि सिडिएससीको वेब साइटमा पैंतीस दिनको म्याद दिई सूचना प्रकाशित गर्नुपर्नेछ । धितोपत्र धनीको मृत्यु पश्चात् हकवालामा सर्ने धितोपत्रको हस्तान्तरण गर्दा सो धितोपत्रसँग सम्बन्धित बोनस तथा लाभाँश लगायतका लाभहरु समेत हकवालाको नाममा हस्तान्तरण हुनेछ ।