बालुवाटार छोड्दै राष्ट्र बैंकका ३ विभाग « Eglish Khabarhub

बालुवाटार छोड्दै राष्ट्र बैंकका ३ विभाग




काठमाडौं । नेपाल राष्ट्र बैंकका ३ वटा विभाग केन्द्रीय कार्यालय बालुवाटारबाट वाहिरिने भएका छन् ।

राष्ट्र बैंकको आन्तरिक लेखापरीक्षण, संस्थागत योजना र अनुसन्धान विभाग बालुवाटारबाट हट्ने भएका हुन् ।

यी विभाग बालुवाटारबाट हटेर तत्कालिन एनआइडीसी डेलपमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान दरवारमार्ग र पुल्चोकमा सहकारी विकास विभाग रहेको भवनमा सर्ने भएका छन् ।

यस्तै थापाथलीमा रहेका २ वटा विभाग बालुवाटार जाने भएका छन् । थापाथलीमा बैंकिङ कार्यालय र नोट विभाग थिए । यी दुबै विभाग बालुवाटार ल्याएपछि ठाँउ नपुग्ने भएकोले पहिला बालुवाटारमै रहेका ३ विभागलाई बाहिर पठाउन लागिएको हो ।

राष्ट्र बैंकको थापाथलीको भवन भूकम्पका कारण जिर्ण बनेकोले पुननिर्माण गर्न सो स्थान खाली गर्न लागिएको छ । थापाथलीका दुबै विभाग खाली गरिदिएपछि थापाथलीमा नयाँ भवन बनाउने प्रक्रिया सुरु हुनेछ ।

थापाथलीमा रहेका २ वटा विभाग बालुवाटार ल्याउने र बालुवाटारमा रहेका ३ वटा विभागलाई बाहिर सारिने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

राष्ट्र बैंकको थापाथलीको भवन करिब २ अर्ब रुपैयाँमा बनाउन लागिएको छ । ठेकेदारले सो भवन साढे २ बर्षभित्रमा बनाइसकिने जानकारी दिएको राष्ट्र बैंकको भनाइ छ ।

Publish on: