काठमाण्डौबाट फाखेल र सिस्नेरी हुँदै हेटौंडा पुग्ने सडकमा जोरबिजोर प्रणाली लागू हुने « Eglish Khabarhub

काठमाण्डौबाट फाखेल र सिस्नेरी हुँदै हेटौंडा पुग्ने सडकमा जोरबिजोर प्रणाली लागू हुने



हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा-सिस्नेरी-काठमाण्डौ सडक अवरुद्ध गर्नेलाई कार्बाहि गरिने बताएका छन् ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सरोकारवालाहरु संगको छलफलमा मुख्यमन्त्रि पौडेलले बिभिन्न बहानामा सडक सञ्चालनमा अवरोध भएको भन्दै सडक निर्वाध रुपमा सञ्चालन गर्न निर्देशन दिए ।

यहि कात्तिक १६ गतेबाट सुचारु हुने गरी आवस्यक व्यबस्था मिलाउन पनि उनले निर्देश गरे ।

सडक साँघुरो भएका कारणपनि जोरविजोर प्रणाली लागू गर्नु पर्ने आवश्यकता रहेको प्रष्ट पारेका थिए । छलफलपश्चात विभिन्न ३ वटा निर्णहरु समेत गरिएको छ ।

हेटौडा-काठमाडौं ओहोर दोहोर गर्ने सार्वजनिक सुमो यातायाहरुको हकमा हेटौडा–कुलेखानी-फाखेल-काठमाडौं रुटमा जोर बार जोर नम्बरका सुमो र हेटौडा–कुलेखानी-सिस्नेरी-काठमाडौं रुटमा बिजोर बार बिजोर नम्बरका सुमो सञ्चालन गर्ने निर्णय भएको छ ।

यसको व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र यातायात व्यावसायी संघहरुले संयुक्त रुपमा मिलाउने निर्णय गरिएको छ ।

त्यसैगरी यातायात सहजताका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी कार्यालय काठमाडौंसंग आवश्यक समन्वय गरी निर्णय कार्यान्वयन गर्ने, गराउने समेत निर्णय भएको छ ।

सडकका ठेक्काहरु प्रदेश सरकारमा हस्तान्तरण भै नसकेको अवस्थामा सडक डिभिजन कार्यालय काठमाडौं र मकवानपुरले निर्माण कार्यको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई ३ दिन भित्र सम्पर्कमा आइ आवश्यक मर्मत गरी यातायात सुचारु हुन सक्ने अवस्थामा ल्याउन पत्राचार गर्ने पनि निर्णय भएको छ ।

संघीय सरकार मातहत रहेको दक्षिणकाली-छैमले-सिस्नेरी-कुलेखानी सडक खण्डमा नेपाल सरकारबाट सम्झौता भई चालु रहेका ठेक्काहरु आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित सडक डिभिजन कार्यालयहरुबाट प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले बुझ्ने व्यवस्था मिलाउने पनि छलफलबाट निर्णय गरिएको छ ।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापितले सडक सञ्जालमा कसैले अवरोध गर्न नहुने बताए । उनले अन्य बैकल्पिक मार्ग सञ्चालन गरे थप सजिलो हुनेपनि प्रष्ट पारे ।

छलफलमा प्रमुख सचिव आनन्दराज ढकाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, ईन्द्रसरोबर गाउ“पालिका अध्यक्ष जिबन लामा, मन्त्रालयका सचिबहरु रमेश शिवाकोटी, रुद्रा शर्मा, यातायात व्यवसायीहरु, डिभिजन सडक कार्यालयका ईन्जिनियरहरु लगायत सहभागि थिए ।

मुख्यमन्त्री पौडेल र प्रतिपक्षी दलका नेता बानियाँको ध्यानाकर्षण

यसैबीच, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँँलाई दक्षिणकाली नगरपालिकाका मेयर, वडाअध्यक्ष र ईन्द्रसरोबर गाउँपालिकाका वडाअध्यक्षहरुद्वारा सिस्नेरी दक्षिणकाली सडकखण्ड र कुलेखानी फाखेल हुमानेभञ्याङ्ग सडक स्तरोन्नती गर्न मंगलबार हेटौंडामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, ५ नम्बर वडाअध्यक्ष श्यामबहादुर खत्री, ९ नम्बर वडा अध्यक्ष अमृका बलामी, ईन्द्रसरोबर गाउँपालिका ४ का वडा अध्यक्ष धनविर स्याङ्तानलगायत स्थानीयहरुले मूख्यमन्त्री पौडेल र प्रतिपक्ष दलका नेता बानियाँलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

Publish on: