राष्ट्रपति भण्डारीको सन्देशः आर्थिक समृद्धिको यात्रा सफल पारौं « Eglish Khabarhub

राष्ट्रपति भण्डारीको सन्देशः आर्थिक समृद्धिको यात्रा सफल पारौं



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिएकी छिन् ।

नेपालीहरूको महान् पर्व तिहार, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको सुखद उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले समृद्ध नेपाल निर्माणमा सबै दल एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याइन् ।

मुलुकमा लोकतन्त्रसहितको ठूलो राजनीतिक परिवर्तन गर्न राजनीतिक दलहरुले निर्णायक भूमिका निर्वाह गरेकाले अब देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल पार्नसमेत दलहरु एकजुट हुनुपर्ने अपरिहार्यता दर्शाउनुु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले आर्थिक विकासको अभियानलाई तीव्र गतिमा अघि बढाउन आफ्नो तर्फबाट सरकार र राजनीतिक दलहरुलाई सदाझैँ सक्दो सहयोग रहने दृढता व्यक्त गरेकी थिइन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, पूर्व सभामुखहरूलगायत नेकपा, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका प्रमुखनेताहरुको उपस्थिति थियो ।

Publish on: