मंसिर ६ गते करदाता र कर प्रशासनबीच मैत्रीपूर्ण फुटबल हुँदै « Eglish Khabarhub

मंसिर ६ गते करदाता र कर प्रशासनबीच मैत्रीपूर्ण फुटबल हुँदै




काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र आन्तरिक राजस्व विभागको सह-आयोजनामा करदाता र कर प्रशासनबीच यही मंसिर ६ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

महासंघ र अर्थमन्त्रालय\आन्तरिक राजस्व विभागको सहकार्यमा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना हुन लागेको हो । विहीवार विहान ७ः३० बजेबाट नेपाली सेनाको हेडक्वार्टरको फूटबल मैदान, भद्रकालीमा फुटवल प्रतियोगितामा हुने बताइएको छ ।

खेलको शुभारम्भ अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सहित पदाधिकारीहरूबाट हुनेछ । उक्त खेलमा भाग लिई कर प्रशासन र निजी क्षेत्र बीच सम्बन्ध प्रगाढ बनाई कर प्रशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यमा आ-आफ्नो स्थानबाट सहयोग गर्न महासंघले आफ्ना सवै सदस्यहरूमा अपिल समेत गरेको छ ।

यता, नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा स्थापना गरिएको कर परामर्श केन्द्रको राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले एक समारोहका बीच महासंघ सचिवालयमा शुभारम्भ गरेका छन् ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु प्रसाद नेपाल, सो मन्त्रालय अन्तगर्तका विभागिय प्रमुखहरू, सरकारका उच्च अधिकारी, महासंघको कर तथा राजस्व समितिका सभापति, उप-सभापति, कार्य समिति सदस्यहरू, उद्यमी व्यवसायी लगायतको उपस्थिति थियो ।

परामर्श केन्द्रको उद्घाटन पश्चात महासंघ सचिवालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष राणाले मुलुकको आर्थिक विकासका लागि सरकारले ल्याउने सवै प्रकारको कार्यक्रममा सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाइन् ।

कार्यक्रमका मुख्य अतिथि अर्थमन्त्रालयका राजस्व सचिव ढुंगानाले सरकार निजी क्षेत्रको साझा चासो भनेकै मुलुकको विकास र जनताको समृद्धिनै रहेकाले निजी क्षेत्रलाई सदैव साथ लिएर कार्य गर्ने विश्वास दिलाए ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको निजी क्षेत्र दक्षिण एशियामै बढी कर तिर्नेमा देखिएको भन्दै चालु आवको पहिलो त्रैमासमा लक्ष्य भन्दा ३३.४ प्रतिशत बढी कर संकलन भएको बताउँदै देशको प्रगति देख्नेका लागि यो अत्यन्त सुखद समाचार भएको बताए ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक नेपालले कर तिर्ने वातावरणलाई अभिप्रेरित गर्ने उद्देश्यले कर सप्ताह कार्यक्रम मनाउने प्रथाको शुरुवात गरिएको स्पष्ट पारे ।

कार्यक्रममा महासंघको कर तथा राजस्व समितिका सभापति अशोक कुमार तोदीले धन्यवाद मन्तव्य दिनु भएको थियो भने उप-सभापति कृष्ण दुलालले आगामी विहीवार आयोजना हुने फुटवल प्रतियोगिता वारे जानकारी गराएका थिए भने र अर्का उप-सभापति सुनिलगोपाल श्रेष्ठले फूटवल कार्यक्रमको लजिष्टिक सहयोगका विषयमा प्रष्ट पारेका थिए ।

Publish on: