लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु, ‘लैङ्गिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’ « Eglish Khabarhub

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु, ‘लैङ्गिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’



काठमाडौँ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ ।

लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराधलाई अन्त्य गर्दै महिला तथा पुरुषबीच रहेको असमानता हटाई बालिका, किशोर, वयस्क र वृद्धा महिलालगायत सबै लिङ्गका मानिसलाई बिना भेद्भाव सम्मानित जीवनयापन गर्न सक्षम तुल्याउने उद्देश्यले सो अभियान आयोजना गरिएको हो ।

सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिकदेखि शुरु भई डिसेम्बर १० तारिकका दिन सम्पन्न हुने गरेको छ । यस वर्षको अभियानको नारा ‘लैङ्गिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने रहेको छ ।

यसैअवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिक रुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको आवश्यकता भएको बताएकी छिन् ।

महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले बोक्सीको आरोप, छाउपडी, दाइँजो जस्ता कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा अहिलेपनि रहिरहेका अन्धविश्वास, कूरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न अझै बाध्य रहेको बताए ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताए ।

Publish on: