काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब सरकारले कर्मचारीहरुलाई पेन्सन दिनुनपर्ने बताएका छन् । कर्मचारीहरु आफैंले जागिर खाँदा कटाएर राखेको कोषबाट पेन्सन दिने ब्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए ।
‘हामी योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्दैछौं, यो लागू गरेपछि सरकारले विकास बजेट काटेर कर्मचारीलाई पेन्सन दिनुपर्ने युगको अन्त्य हुन्छ,’ मंगलबार बसेको संघीय संसदको अर्थ समितिमा मन्त्री खतिवडाले भने ।
अहिले सरकारले अबकाशप्राप्त कर्मचारीलाई वार्षिक ५३ अर्ब रुपैयाँ पेन्सन दिँदै आएको छ । यो रकम हरेक वर्ष बढ्दो छ ।
‘अब नयाँ भर्ना हुने कर्मचारीका लागि योगदानमा आधारित पेन्सनको व्यवस्था गरिनेछ, जसमा कर्मचारीको ६ प्रतिशत र सरकारको ६ प्रतिशत गरेर कोषमा जम्मा गरिनेछ,’ मन्त्री खतिवडाले भने, ‘६० वर्ष पुगेका कर्मचारीलाई सोही कोषबाट पेन्सन सुविधा प्रदान गरिनेछ ।’
राज्यलाई पेन्सनको टेन्सन नहोस् भनेर नयाँ मोडालिटीमा अघि बढ्न लागिएको उनले जानकारी दिए ।
SHARE YOUR THOUGHTS