काठमाडौं । फाइनान्स कम्पनीहरुको संस्था वित्त कम्पनी संघले मुद्दति निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने निर्णय गरेको छ ।
करिब ३ महिना अगाडि नै मुद्दतिमा बढीमा १२ प्रतिशत मात्रै ब्याज दिने निर्णय गरेको संघले फेरि बैठक बसेर आफ्नो पुरानो निर्णयलाई निरन्तरता दिएको हो ।
‘हामीले मुद्दतिमा १२ प्रतिशतसम्म ब्याज दिने निर्णय पहिला नै गरेका थियौं, अहिले केही बाणिज्य बैंकहरुले ब्याजदर बढाएको भन्ने हल्ला आएको छ, यो सन्दर्भमा हामी फेरि बैठक बस्यौं, बैठकले १२ प्रतिशतभन्दा बढी ब्याज नदिने पुरानो निर्णयलाई निरन्तरता दिने निर्णय गर्यो,’ संघका अध्यक्ष सरोकाजी तुलाधरले क्लिकमाण्डूसँग भने ।
केही दिन अगाडि मात्रै जनता बैंकले मुद्दति निक्षेपमा १२ प्रतिशत र माछापुच्छ्रे बैंकले साढे १२ प्रतिशत ब्याज दिने गरी सार्बजनिक सुचना प्रकाशित गरेका छन् । बाणिज्य बैंकहरुले ब्याजदर बढाउने प्रतिस्पर्धामा लागेको बेलामा फाइनान्स कम्पनीहरु भने १२ प्रतिशतको सीमामा अडिग रहने निर्णयमा पुगेका हुन् ।
फाइनान्स कम्पनीहरुले मुद्दति निक्षेपमा १२ प्रतिशत ब्याज दिने गरी सुचना प्रकाशित गर्ने र त्यसमा ०.५ प्रतिशत थप गरेर बढीमा साढे १२ प्रतिशतसम्म मात्रै मुद्दति निक्षेपमा ब्याज दिने गरेका थिए ।
मुद्दति निक्षेपको ब्याजमा संघले औपचारिक निर्णय गरेर सीमा लगाएको भएपनि बचतमा भने कुनै सीमा तोकेको थिएन ।
निक्षेपको ब्याज महंगो हुदा त्यसले कर्जाको ब्याज पनि बढाउने र समग्रतामा पुँजीको लगत धेरै भएर लगानीमैत्री वातावरण नबन्ने भएकोले ब्याजदरमा सीमा लगाउने निर्णय गर्न वाध्य हुनुपरेको गुडविल फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका संघका अध्यक्ष तुलाधरले बताए ।
SHARE YOUR THOUGHTS