प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्नेे, साझा यातायात र काठमाण्डौ महानगरसँग सहकार्य « Eglish Khabarhub

प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्नेे, साझा यातायात र काठमाण्डौ महानगरसँग सहकार्य




हेटौंडा । ३ नम्बर प्रदेश सरकारले बिद्युतीय बस सञ्चालनको प्रकृया तत्काल सुरु गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायात सहकारी संस्था लिमिटेड र काठमाण्डौ महानगरपालिका संगको सहकार्यमा सञ्चालनमा ल्याउने भएको हो ।

बुधबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, ३ नम्बर प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षित सहित हेटौंडामा भएको बैठकबाट विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने निर्णय भएको हो ।

प्रदेश सरकारले यसै आर्थिक बर्षमा ३० करोड रुपैयाँसम्म खर्च गर्ने र काठमाण्डौ महानगरपालिकाले १० करोड रुपैयाँ बराबरको बिद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने योजना गरेको छ ।

प्रदेश सरकारले बिक्रम सम्बत् २०८५ सम्ममा काठमाण्डौ उपत्यकासहित चितवन, हेटौंडा, बनेपा, धुलिखेल, पनौतीमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन विस्थापित गर्ने नीति अनुरुप विद्युतीय बस सञ्चालनको तयारी गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।

नमूनाको रुपमा यस बर्ष ३० करोड रुपैयाँ बराबरको विद्युतीय बस खरिद गर्न लागेको उनको भनाई थियो । आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले प्रदेश सञ्जाल जोडिने गरी विद्युतीय बस सञ्चालन हुने बताए । सरकारी लगानीको संस्था भएकोले पनि साझा यातायातसंग सहकार्य हुने उनको भनाई छ ।

काठमाण्डौ महानगरपालिकाका मेयर शाक्यले बस खरिदका लागि १० करोड रुपैयाँ छुट्याएको भन्दै साझा यातायात संगको सहकार्यमा बस खरिद गरेर चलाउन लागिएको बताए ।

साझा यातायातका अध्यक्ष दिक्षितले काठमाण्डौका लाखौं यात्रुले यातायातमा समस्या खेपिरहेकोले साझा यातायातले धेरै राहत दिएको बताए । अझैपनि यो समस्या कायम रहेको भन्दै साझामार्फत चल्ने बसको संख्या र सुविधा बढाउनु पर्ने बताए ।

छलफलमा प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश सांसद दीपक निरौला, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, सदस्य श्याम बस्नेत, साझा यातायातमा प्रतिनिधित्व गर्ने काठमाण्डौ महानगरपालिकाका कानुन महाशाखाका प्रमुख वसन्त आचार्यकोपनि उपस्थिति थियो ।

Publish on: