काठमाडौं । सरकारले रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका रमेशकुमार पोखरेललाई नियुक्त गरेको छ ।
गत सोमवार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । बोर्डमा पोखरेलसँगै दामोदर बसौला र श्रीमान कार्कीको नाम मन्त्रिपरिषद पुगेको थियो ।
मन्त्रिपरिषद बैठकले पोखरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेपनि सो निर्णय भने अझै सार्बजनिक भएको छैन । सरकारले सोमवारको मन्त्रिपरिषद बैठकका निर्णय विहिबार सार्बजनिक गर्ने गरेको छ । निर्णय सार्बजनिक नभएपनि सोमबारको मन्त्रिपरिषद बैठकले पोखरेललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
पोखरेलसँग वित्तीय क्षेत्रमा काम गरेको ३० बर्षे अनुभव छ । राष्ट्र बैंकमा अहिले कायम रहेको सेवा अवधि ३० बर्ष वा उमेर हद ५८ बर्षमध्ये जुन पहिला आउँछ त्यसैको आधारमा अवकाश दिने नीतिगत ब्यवस्थाका कारण पोखरेल केही महिना अगाडि मात्रै राष्ट्र बैंकबाट बाहिरिएका थिए । उनी राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका ब्यक्ति हुन् ।
उनी राष्ट्र बैंकबाट अवकाश पाएपनि उनको अवकाशको विषय अदालतमा अझै विचाराधिन छ । राष्ट्र बैंकको दोहोरो अवकाश नीति विरुद्ध उनीसहितका केही कर्मचारीले हालेको मुद्दा अदालतमा अझै विचाराधिन छ ।
सरकारले खुल्ला प्रतिस्पर्धाबाट बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको हो । खुल्ला प्रतिस्र्धाबाट कार्यकारी निर्देशक छनोट गर्ने प्रक्रिया सरकारले अगाडि बढाएपछि पोखरेलसँगै करिब डेढ दर्जन ब्यक्तिको उम्मेदवारी परेको बताइएको छ । छनोट समितिले यसमध्ये ७ जनाको नाम लोकसेवा आयोगमा सिफारिस गरेको थियो ।
स्वास्थ्य बीमा ऐनमा कार्यकारी निर्देशकको लागि लोकसेवा आयोगले ३ जनाको नाम सिफारिस गर्ने र सिफारिसमा परेकामध्येबाट सरकारले एक जनालाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने ब्यवस्था छ ।
लोकसेवाले प्रारम्भिक छनोटमा परेका सातै जनासँग अन्तरवार्ता र प्रस्तुतीकरण लिएको थियो । सो अन्तरवार्ता र प्रस्तुतीकरणमा विज्ञसहित आयोगका अध्यक्ष उमेश मैनाली आफैपनि उपस्थित भएका स्रोतले जानकारी दिएको छ ।
पोखरेलले आयोग, नेपाल राष्ट्र बैंक र सरकार विरुद्ध नै मुद्दा हालेको र सो विषय विचाराधिन रहेको अबस्थामा उनलाई सिफारिस गर्ने कि नगर्ने भन्ने दुविधामा आयोग परेको बताइएको छ । तर, सार्बमौम नागरिकका हिसाबले अधिकार प्राप्तीको कानुनी लडाइमा रहेकै आधारमा पोखरेललाई सिफारिस गर्न कानुनी रुपमा अप्ठेरो हुदैन भन्ने कानुनी रायपछि मात्रै आयोगले पोखरेल सहितको नाम सिफारिस गरेको आयोग स्रोतको भनाइ छ ।
मन्त्रिपरिषदमा सिफारिस भएका ३ जनामा पोखरेल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट अवकाश पाएका ब्यक्ति हुन् । उनले नेपाल राष्ट्र बैंकमा रहदा अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) का कार्यकारी निर्देशकको सल्लाहकारको भूमिकामा रहेर अन्तराष्ट्रिय एक्सपोजर समेत प्राप्त गरिसकेका छन् । उनी नेपाल राष्ट्र बैंकको समकक्षीमा काबिल कार्यकारी निर्देशक मध्येमा गनिन्थे ।
यस्तै अर्का प्रतिस्पर्धी बसौला बीमा क्षेत्रका विज्ञ हुन भने कार्की बीमा समितिका अवकाश प्राप्त कार्यकारी निर्देशक हुन् ।
SHARE YOUR THOUGHTS