काठमाण्डौ । नेपाल चेम्वर अफ कमर्स र जापान स्थित टोकियो युनिभर्सिटी अफ एग्रीकल्चर एण्ड रिसर्च इन्स्टीच्युटबीच दुई पक्षीय समझदारीपत्र आज हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र टोकियो युनिभर्सिटी अफ एग्रीकल्चर एण्ड रिसर्च इन्स्टीच्युटको तर्फबाट निर्देशक हिरोआकी वाकामात्सुले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा नौ वटा बुँदाहरु छन् । नेपाल र जापान वीच दुई देशवीचको आर्थिक तथा व्यापारिक सम्वन्ध अभिबृद्धिका साथै कृषिको उत्पादकत्व वृद्धि गर्न प्रबिधिको आदान प्रदानका साथै सूचनाको आदानप्रदान गर्ने, दुई देशका व्यापारिक प्रतिनिधि मण्डलहरुबीच पारस्परिक भ्रमण गर्ने लगायतका प्रावधानमा सहमति भएको छ ।
साथै दुवै देशको वैदेशिक व्यापार तथा लगानी अभिबृद्धिका सन्दर्भमा यस सम्वन्धी सान्दर्भिक सूचना तथा नीति नियमहरुको बिवरण आदानप्रदान गर्ने, व्यापार तथा प्रविधि मेलाहरुमा सहभागिता जनाउने लगायतका बुँदाहरु उल्लेख छन् । समझदारीपत्रले दुई देशवीचको कृषि, व्यापार अभिबृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
उक्त अवसरमा युनिभर्सिटी अफ एग्रीकल्चर एण्ड टेक्नोलजीका प्रोफेसर ताकाओ नितानीले नेपाल कृषि प्रधान मुलुक भएकोले नेपालको कृषि बिकासको लागि सहकार्य गर्न इच्छुक रहेको बताए ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले यस समझदारी पत्रले नेपाल जापानबीचको आर्थिक सम्वन्धमा नयां आयाम थपेको र खास गरेर टोकियो बिश्व बिद्यालयको कृषि अनुसन्धान संस्था संग भएको यस समझदारी पत्रले नेपाल कृषि प्रधान मुलुक भएको हुंदा यसबाट नेपालको लागि उपयोगी प्रबिधि तथा ज्ञान प्राप्त हुने बिश्वास गरिएको बताए ।
उक्त अवसरमा टोकियो युनिभर्सिटी अफ एग्रीकल्चर एण्ड टेक्नोलजीका प्रोफेसर टाकाओ नितानी, जापानकालागि नेपाल चेम्वर अफ कमर्सका अवैतनिक व्यापार प्रतिनिधि वलराम श्रेष्ठ, कास सदस्य राष्ट्रभुषण चाकुबजीको पनि उपस्थिति रहेको थियो ।
SHARE YOUR THOUGHTS