काठमाण्डौ । विगत दुईवर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट एक तर्फीरुपमा ऋणको ब्याज दर बृद्धि हुँदै आएकोप्रति नेपाल उद्योग बाणिज्य महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका निमिक्ति महानिर्देशक गोपालप्रसाद तिवारीद्वारा आज प्रकाशित विज्ञप्तिमा ऋणको ब्याज दर बृद्धिले उद्योग व्यवसाय क्षेत्रले कठिनाइ भोगिरहेको कुरा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ–निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत बृद्धि भएको छ भने अर्कोतर्फ नयाँ परियोजना ल्याउन नसकिरहेको अवस्था छ ।
महासंघले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रका जिम्मबार पदाधिकारीहरुलाई औपचारिक एवम् अनौपचारिक रुपमा नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्घी क्षमता ह्रास हुन गएकोले उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परेको बताउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
बढ्दो ब्याज दरले लगानी संकुचित भई सरकारले लिएको ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य र थप पाँच लाख रोजगारी बृद्धिको लक्ष्य हासिल हुन कठिन हुने देखिन्छ–विज्ञप्तिमा भनिएको छ ।
हालै फेरी बैंकको ब्याजदर बृद्धि हुने क्रम सुरु भएको र अव्यवहारिक ढंगबाट एकतर्फी रुपमा ब्याजदर बढाइदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई प्रत्यक्ष प्रभाव पारी समग्र अर्थतन्त्र प्रभावित हुने महासंघले जनाएको छ ।
अस्वाभाविक तरिकाले भइरहेको ब्याजदर बृद्धिलाई निश्चित सीमा तोक्न नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई महासंघ हार्दिक अनुरोध गर्दछ-विज्ञप्तिमा जनाइएको छ ।
SHARE YOUR THOUGHTS