अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा प्रधानमन्त्रीको सन्देशः परिश्रमबाट मुलुकको आर्थिक समृद्धि हुन्छ « Eglish Khabarhub

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा प्रधानमन्त्रीको सन्देशः परिश्रमबाट मुलुकको आर्थिक समृद्धि हुन्छ



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस–२०१८ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल नवीन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको बताए ।

“देशलाई समृद्ध र सुखी बनाउन सबै तह र तप्का क्रियाशील हुनुपर्दछ, आर्थिक समृद्धिका लागि श्रमिकको योगदान अपरिहार्य छ,” उनले सन्देशमा भने । बर्सेनी लाखौँ नेपाली युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार आप्रवासीको मर्यादित जीवन र सम्मानपूर्ण कामको वातावरण निर्माणका लागि क्रियाशील रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस-२०१८ को शुभकामना सन्देश दिँदै उहाँले आप्रवासी नेपाली श्रमिकको हितलाई ध्यानमा राखेर वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरेको बताए ।

उनले नेपालमा पहिलो पटक श्रमिकको सामाजिक सुरक्षालाई बलियो बनाउन सामाजिक सुरक्षा योजना लागू गरिएको भन्दै सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित थप रोजगारी सिर्जना गर्न देशव्यापी रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्ने सन्देशमा उल्लेख गरेका छन् ।

Publish on: