काठमाडौं । लगातार सेयर बजार घटेपछि लगानीकर्ताहरु विभिन्न माग राख्दै आउन्दोलनमा उत्रिए । केही लगानीकर्ता त नेपाल स्टक एक्सचेञ्ज परिसरमा आमरण अनसन समेत बसे ।
लगानीकर्ताहरु अनसन बसेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले उनीहरुका माग सम्बोधन गर्नका लागि डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा कमिटि नै कठन गरे ।
कमिटिले निकै लामो प्रतिवेदन बुझायो । कमिटिले प्रतिवेदन बुझाएपछि लगानीकर्ताले अनसन तोडे । किनभने श्रेष्ठ संयोजकत्वको कमिटिले लगानीकर्ताका माग सम्बोधन गर्दै प्रतिवेदन तयार पारेको थियो ।
प्रतिवेदन सार्वजानिक भएपछि सेयर बजार उछाल आयो । केहीदिन नेप्से इन्डेक्स बढ्यो पनि ।
कमिटिको प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा बैंकलाई सहायक कम्पनी खोलेर ब्रोकरको कारोबार गर्न दिने, ५० प्रतिशत रहेको सेयर धितो कर्जाको सीमालाई बढाएर ६५ प्रतिशत पुर्याइने, तत्काल मार्जिन कल रोक्ने, बैंकले आफ्नो कोर क्यापिटलको २५ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सीमालाई बढाएर ४० प्रतिशत गर्न पाउने लगायतका ब्यवस्था कार्यान्वयनमा आए ।
यी ब्यवस्था कार्यान्वयनमा आएपछि सेयर बजार झन बढ्ने अपेक्षा गरिएको थियो । तर, उल्टो घट्यो ।
किन घट्यो त बजार ? मार्केट मेकरको रुपमा हेरिएका म्युचुअल फण्डले यही समय सेयर बिक्री गरेका कारण बजार घटेको हो । डेपुटी गभर्नरको प्रतिवेदन सार्वजानिक भएपछि बजार बढेको मौका छोपेर म्युचुअल फण्डले ठूलो परिणाममा सेयर बिक्री गरेका छन् ।
म्युचुअल फण्डमा प्राविधिकरुपमा सेयर बजारको राम्रो विश्लेषण गर्नसक्ने व्यक्तिहरु हुन्छन् । उनीहरुले नै अब बजार बढ्ने संभावना नदेखेर २०/५० अंकले बढ्दा त्यसको फाइदा उठाउँदै धमाधम सेयर बिक्री गरे । जसकारण पछिल्लो समय लगातार सेयर घटेको हो ।
यो हप्ता नेप्से सूचक २६ अंकले घटेको छ । गत आइतबार १२०४ अंकमा रहेको नेप्से सोमबार ११८७ अंकमा झर्यो । मंगलबार ११८५ र बुधबार ११८० अंकमा झर्यो । अन्तिम दिन बिहीबार फेरि घटेर ११७८ मा झरेको छ ।
नेप्से इन्डेक्स घटेसँगै कारोबार रकम पनि घटेको छ । यसले आगामी दिनमा पनि नेप्से घट्दो ट्रेन्डमै जाने संकेत गर्छ ।
SHARE YOUR THOUGHTS