काठमाडौं । नेपाल राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकलाई व्यवसायी अजेय सुमार्गीले झिकेको ८४ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ ।
सर्वोच्च अदालतले आइतबार राष्ट्र बैंकलाई सुमार्गीको पैसा फिर्ता गर्न आदेशसहितको पत्र पठाएको थियो ।
‘हामीले आइतबार अदालतको पत्र पायौं र आइतबारै इन्भेष्टमेन्ट बैंकलाई पैसा फिर्ता गर्न निर्देशन दियौं,’ नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘अब इन्भेष्टमेन्ट बैंकले नै सुमार्गीको रकम फिर्ता गर्छ ।’
सुमार्गीले मुक्तिश्रीका नाममा आएको वैदेशिक लगानीको स्रोत नखुलेपछि राष्ट्र बैंकले ५ वर्षदेखि सुमार्गीको खाता रोक्का गरेको थियो । तर, गत पुस १० गते सर्बोच्चका न्यायधीस दिपकराज जोशीको एकल अन्तरिम आदेश दिँदै सुमार्गीको खाता रोक्का नगर्न भनेको थियो ।
अदालतको आदेशपछि सुमार्गीले इन्भेष्टमेन्ट बैंकबाट रकम निकालेका छन् । स्रोतका अनुसार अन्य उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नमा खर्च गरेका छन् ।
‘उक्त रकम सुमार्गीले ऋण तिर्नमा खर्च गरेको भन्ने सुनिन्छ, ऋण तिरिसकेको भए कसरी फिर्ता गर्ने ?’ स्रोतले भन्यो ।
सुमार्गीले इन्भेष्टमेन्ट बैंकमा भएको पैसा निकालिसकेपछि भने अदालतले प्रधानन्यायधीस चोलेन्द्र शमसेर जबरा र न्यायधीस आनन्दमोहन भट्टराईको इजालशले यसअघिको अन्तरिमा आदेश सच्याउँदै उक्त रकम फिर्ता गर्न पुस २४ गते अर्को आदेश दिएको थियो ।
१४ दिनअघि खाता रोक्का नगर्नू भन्ने र १४ दिनपछि भिकिसकेको पैसा फिर्ता गर्नु भन्ने अदालतको आदेशले सरोकारवालालाई अन्यौलमा पारेको छ ।
सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले गरेको एक अध्ययनले सुमार्गीले नेपाल ल्याउन लागेको १२ अर्ब रुपैयाँको स्रोत खुल्न नसकेको देखिएको थियो ।
SHARE YOUR THOUGHTS