इलाम । दुख गरेर उब्जाएको अदुवाले उचित मूल्य नपाएपछि चिन्तित बनेका इलामका कृषक अहिले अदुवाको मूल्य बढेपछि खुशि भएका छन ।
अदुवाको मूल्य बढेपछि खुशी हुनेमध्येका एक हुन इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गाना । उनले यसपटक अदुवाबाट एक लाख रुपैयाँ आम्दानी गरे । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको बताए ।
“पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाबाट निकै राम्रो आम्दानी भयो”, उनले थपे, “गर्नचाहिँ छाड्नुहुने रहेनछ, कुनै दिन भाउ आउँदोरहेछ ।”
मूल्यबृद्धिले हर्षित हुने अर्का कृषक हुन त्यहीँका खडानन्द ढुङ्गाना । उनले पनि अदुवाबाट रुएक लाख ५० हजार रुपैयाँ आम्दानी गरे । “अदुवाबाट यतिको धेरै आम्दानी भएको मेरो पहिलो पटक हो”, उनले भने, “यसपालि राम्रो मूल्य आएकाले अदुवा खेतीमा कृषकमा आशा पलाएको छ ।”
उनीहरु मात्र होइन अदुवाबाट यसपालि धेरैले राम्रो आम्दानी गरेका छन । गत वर्षको तुलनामा यसपटक अदुवा प्रतिमन ९४० किलोको एक मन दुई हजार ५०० देखि तीन हजारसम्म पुगेको छ । यतिबेला किसान धमाधम अदुवा खन्नमा व्यस्त छन भने कतिपयले खनेर बिक्रीसमेत गरिसकेका छन । अदुवाबाट भएको आम्दानीले किसानले घर खर्च मात्र चलाएका छैनन । आफ्ना बालबच्चालाई राम्रो विद्यालय पढाएका पनि छन । अदुवामा कुनै पनि रोग नलागेकाले यस पटक उत्पादनसमेत बढेको कृषक बताउँछन । “विगतमा पात पहँेलिने, अदुवा कुहिने समस्या देखापर्दथ्यो तर यो वर्ष त्यस्ता समस्या देखिएन”, खेमप्रसादले भने, “अदुवाबाट भएको आम्दानीले घर व्यवहार धानेको छु ।”
“अदुवाको मूल्य अहिलेसम्मकै उच्च हो”, बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले भने, “मूल्य उच्च भएपछि गाउँगाउँबाट अदुवा आउने क्रम बढ्दै गएको छ ।” उत्पादनको शुरूमा प्रतिमन एक हजार ५०० रुपैयाँ देखि दुई हजारसम्म पुगेको थियो । यस पटक कृषकले प्रतिमन दुई हजार ५०० रुपैयाँसम्म अदुवा बेचेका थिए ।
यस वर्ष भारतको पञ्जाब, सिक्किम र आसाम राज्यमा अदुवाको उत्पादन कम भएकाले नेपाली अदुवाले राम्रो मूल्य पाएको व्यापारी बताउँछन । गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन । मौसममा आठ ट्रकसम्म अदुवा सङ्कलन गरेर बिक्री गर्ने गरेका आमचोकका इन्द्रप्रसाद अधिकारीले पनि यसपटक अदुवाको मूल्य उच्च भएको बताए । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । मेची राजमार्गले छोएका जिल्लाका व्यापारिक केन्द्र कोल्बुङ, हर्कटे, फिक्कल, तीनघरे, इलाम, बिब्ल्याँटे, राँकेलगायतका स्थानमा यस पटक उच्च मूल्यमा अदुवा खरिद बिक्री भइरहेको छ ।
SHARE YOUR THOUGHTS