पूर्वअर्थमन्त्री महतले भने- सरकारले विकास आयोजनामा राजनीति गर्यो

नारायणपुर। पूर्वअर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकारले विकास आयोजनामा समेत राजनीतिकरण गरेको आरोप लगाएका छन् ।

‘सरकारले सम्पूर्ण आयोजनालाई पार्टीकरण तथा नेताकरण गर्न खोजेको छ । काङ्ग्रेसको नेतृत्वमा शुरु भएका आयोजनासमेत सरकारले आफ्नो पार्टीको नेताको नामबाट नामाकरण गरिरहेको छ,’ दाङको घोराहीमा पत्रकारसँग कुरा गर्दै महतले भने ।

आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको उनको भनाइ छ ।

‘विगतको सरकारले देशभर १२÷१३ हजार सानाठूला आयोजना शुरु गरेको थियो । ती आयोजना अहिले अलपत्र अवस्थामा छन्,’ महतले भने, ‘विकास बजेट कसरी खर्च हुन्छ ? आयोजनाको काम शुरु भएपछि बजेट खर्च देखिने हो । विकास ठप्प छ, सरकारले कि पुराना आयोजनाको काम नै हुँदैन भन्नुपर्यो होइन भने स्थानीय सरकारलाई ती आयोजनाको जिम्मा लगाउनुपर्यो ।’

नेता महतले अहिले संविधान कार्यान्वयनमा समेत समस्या देखिएको भन्दै नयाँ लगानीकर्ता निराश अवस्थामा रहेको बताए।

‘सरकारले भाषणमा नयाँ लगानीकर्तालाई प्रवद्र्धन गर्ने योजना बनाएको छ भन्ने सुनिन्थ्यो, तर अहिले निजी क्षेत्र भागाभागको अवस्थामा छ, निराश छ,’ उनले भने, ‘सरकारले निजी क्षेत्र लगानीलाई प्रोत्साहन गर्नैपर्छ ।’ रासस