काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली ठगिने क्रम दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७५/७६ को ६ महिना अवधिमा ४२ करोड ४४ लाख २६ हजार रुपैयाँ विगोदाबीसहित उजुरी परेको छ । कूल ९ सय ५१ वटा उजुरीमा उक्त रकम दाबी गरिएको हो ।
यो ठगी व्यक्तिगत र संस्थागत तर्फको हो । विभागका निर्देशक भोलानाथ गुरागाईंका अनुसार व्यक्तिगत तर्फ २२ करोड ४५ लाख ९९ हजार र संस्थागततर्फ १९ करोड ९८ लाख २६ हजार रुपैयाँ बढी रकम बिगोदाबीसहित उजुरी परेको छ ।
विभागमा परेको उजुरीमा व्यक्तिगततर्फ ३९७ वटा उजुरीमा २२ करोड ४५ लाख ९९ हजार ५ सय रुपैयाँ बिगोदाबी गरिएको छ । पुस महिनामा मात्रै ७६ वटा उजुरी परेको छ । ७६ वटा उजुरीको बिगो दाबी रकम ४ करोड ९२ लाख २५ हजार ३५० रुपैयाँ रहेको छ ।
यो महिना विभागले उक्त दाबी बिगोमा १ करोड ३ लाख २० हजार रुपैयाँ बिगो भराएको छ । यस्तै ६ महिनाको अवधिमा भने ४ करोड ५८ लाख ३१ हजार ७०० रुपैयाँ बिगो भराएको छ ।
६ महिनाको अवधिमा ४९ वटा जाहेरी फरफारक भएका छन भने ७८ वटा उजुरीको मुद्धा अदालतमा दायर भएको विभागले जनाएको छ । ती उजुरीमा १० करोड १ लाख ५० हजार १७१ रुपैयाँ अदालतमा बिगो दाबी गरिएको छ ।
विदेशमा राम्रो काम लगाईदिन्छु भन्दै म्यानपावर व्यवसायी र उनीहरुका एजेन्टहरुले ठगी गरेको भन्दै विभागमा ५५४ वटा उजुरी परेका छन् । विभागका अनुसार यस्तो उजुरी पुस महिनामा मात्रै १२० वटा रहेका छन् । विभागमा परेका ५५४ वटा उजुरीमा १९ करोड ९८ लाख २६ हजार ७२० रुपैयाँ बिगोदाबी गरिएको छ ।
उक्त उजुरीका आधारमा विभागले ३ करोड ५७ लाख २ हजार ३९६ रुपैयाँ विगो भराएको जनाएको छ । यो अवधिमा विभागले ३०१ वटा मुद्वाको फरफारक गरेको जनाएको छ । विभागले ८ वटा मुद्धाको निर्णय गरेर १९ लाख रुपैयाँ जरिवाना समेत गराएको छ ।
विभागमा संस्थागत रुपमा पर्ने उजुरीमा म्यानपावर व्यवसायीले राहदानी जफत गरेर राख्ने, भनेको समयमा विदेश नपठाउने, सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेका छन् ।
त्यस्तै, विदेशमा भनेको काम नपाउने, यहाँबाट जाँदा तोकेको सेवा सुविधा नपाउने, कम्पनी परिवर्तन भएको जस्ता उजुरी विभागमा पर्ने गरेको बताइएको छ । यस्ता उजुरीलाई विभागले म्यानपावर व्यवसायी र उजुरी दिने व्यक्तिलाई बोलाएर मिलापत्र गर्ने गरेको छ ।
SHARE YOUR THOUGHTS