काठमाडौं । आईसीएफसी फाइनान्सको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा १४.०६ प्रतिशतले घटेको छ । गत आवको सोहि अवधिमा ७ करोड १८ लाख १० हजार रुपैयाँ नाफा कमाएको फाइनान्सको चालु आवको सोहि अवधिमा आईपुग्दा ६ करोड १७ लाख ७ हजार रुपैयाँमात्र रहेको छ ।
संभावित जोखिम व्यवस्थाका लागि छुट्याउनु पर्ने प्रोभिजनिङ केही बढेको र अघिल्ला वर्षहरुमा छुट्याइएको संभावित जोखिम बातपको रकम निकै कम मात्रै फिर्ता (राइटब्याक) भएकाले बैंकको नाफा गत वर्षको तुलनामा घटेको हो ।
गत वर्षको पुस मसान्तमा ५ करोड राइटब्याक भएकोमा यो पुसमा १ करोड रुपैयाँमात्रै राइटब्याक भएको छ । यो अवधिमा फाइनान्सको नाफा घटेपनि खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने बढेको छ ।
गत वर्षकोे सोहि अवधिमा १२ करोड १५ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सले चालु यो वर्षको सोहि अवधिमा १६ करोड ४६ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । फाइनान्सको खुद ब्याज आम्दानी ३५.४८ प्रतिशतले बढेको छ ।
गत वर्षको दोस्रो त्रैमासमा ५ करोड २१ लाख ८३ हजार सञ्चालन नाफा आर्जन गरेको फाइनान्सको यो वर्षको सोहि अवधिमा ५१.६६ प्रतिशतले बढेर ७ करोड ९१ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।
८८ करोड २१ लाख ७२ हजार रुपैयाँ चुक्ता पुृँजी भएको फाइनान्सको जगेडा कोषमा २७ करोड ४१ लाख ४१ हजार रुपैयाँ रहेको छ ।
९ अर्ब २ करोड ३ लाख २९ हजार निक्षेप संकलन गरेको फाइनान्सले ७ अर्ब ६० करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत वर्षको भन्दा यो वर्ष फाइनान्सको खराब कर्जा बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा ०.१६ प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोहि अवधिमा ०.३२ प्रतिशत पुगेको छ ।
SHARE YOUR THOUGHTS